वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति रोकियो

काठमाडौं : सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि रोकेको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो ।

भाइरसको त्रास कम नभएसम्म श्रम स्वीकृति प्रदानको कार्य स्थगन गरिएको मन्त्रालयले जनाएको हो । सरकारले यसअघि नै अत्यावश्यक काम बाहेक विदेश नजान आग्रह गरिसकेको छ । नेपालीहरु रोजगारीका लागि जाने खाडी मुलुकहरुमा पनि पछिल्लो समय संक्रमण देखिएको छ ।

कोरोनाको सन्त्रास हटेपछि श्रम स्वीकृति प्रदान गर्ने काम नियमित हुने मन्त्रालयले स्पष्ट पारेको छ । बहराइन जान लागेका ३० नेपालीलाई केही दिनअघि दुबईबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काइदिएका थिए ।

दक्षिण कोरिया, युएई, कतार, बहराइन र ओमानमा पनि कोरोना संक्रमित फेला परिसकेका छन् । मध्यपूर्वी मुलुकमा १० लाख नेपाली कार्यरत छन् ।

तपाईको प्रतिक्रिया

Techie