नेपाल चिकित्सक संघलाई एन ९५ मास्क सहयोग

काठमाडौं : प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनले देशभरका डाक्टरहरुको छाता संगठन नेपाल चिकित्सक संघलाई ५ सय थान एन ९५ मास्क उपलब्ध गराएको छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुका लागी विशेष सहयोग गरिरहेका दुवै संस्थाले ललितपुर महानगरपालिको समन्वयमा नगर प्रमुख चीरिबाबु महर्जन, उपप्रमुख गिता सत्याल र प्रशासकिय अधिकृत प्रेम भट्टराईको रोहवरमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलाई ५ सय थान मास्क हस्तान्तरण गरिएको हो ।

कोरोना भाइरसको माहामारीका समयमा डाक्टरहरु थप सुरक्षित रहनु पर्दछ भन्ने उद्देश्यले फाउण्डेशनकी अध्यक्ष समेत रहेकी गायिका आनी छोइङ डोल्मा, सिंगापुर रेडक्रसकी नेपाल प्रतिनीधि कल्पना क्षेत्री र प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

साथै उनीहरुले विहीवार ललितपुर महानगरपालिकाका लागी पिपिइ किट सेट २० थान र फर्स्ट एड किट्स २० थान उपलब्ध गराएका छन् ।

महानगर प्रमुख चीरिबाबु महर्जनकै पहलमा प्रारम्भ र फाउण्डेशनले विहीवारै गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनलाई समेत २०/२० थान पीपीइ, एन ९५ मास्क र प्राथमिक स्वास्थ्य सामाग्री पुर्याइएको प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले बताए ।

सरकारी तथा सामुदायीक अस्पताल, स्थानीय तह, स्वास्थ्यकर्मी तथा सरोकारवाला संस्था, सुरक्षा निकाय एवं सञ्चार गृह र पत्रकारहरुका लागी विशेष सहयोग गरिरहेको प्रारम्भ र फाउण्डेशनले ललितपुर महानगरको समन्वयमा पाटन अस्पताल र गणेशमान सिंह अस्पतालका लागी समेत पीपीइ तथा प्राथमिक स्वास्थ्य सामाग्री वितरण गरेको महानगर प्रमुख चीरिबाबु महर्जनले जानकारी दिए ।

सिंगापुर रेडक्रसका लागी नेपाल प्रतिनीधि कल्पना क्षेत्रीका अनुसार दुवै संस्थाको पहलमा हालसम्म ६ सय थान पीपीई, १५ सय थान एन ९५ मास्क, १५ सय थान फस्र्ट एड किट्स तथा सानीटाइजर वितरण भइसकेको छ ।

तपाईको प्रतिक्रिया

Techie