मातातीर्थ मेला स्थगित

काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण औँशीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा जन्म दिने आमाप्रति श्रद्धास्वरुप तर्पण, पिण्डदान, श्राद्ध गर्न लाग्ने मेला नहुने भएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण मेला स्थगन गरिएको मातातिर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिए ।

मातृ सम्मान दिवसका रूपमा मनाइने यस पर्वका अवसरमा आमा हुनेले घरमै मीठा चिजबिज खान एवं नयाँ कपडा लगाउन दिएर मनाउँछन् । आमा नहुनेहरु भने संघीय राजधानी काठमाडौंको पश्चिमी भेगमा रहेको मातातीर्थमा गई श्राद्ध, तर्पण, सिदादान गरी यो पर्व मनाउने प्राचीन परम्परा छ ।

अघिल्ला वर्षमा वैशाख कृष्ण औँशीका दिन माताततीर्थमा लाखौँ भक्तजनको भीड लाग्ने गथ्र्यो । मातातीर्थ कुण्डमा स्नान गरी आमाको नाममा तर्पण, पिण्डदान एवं श्राद्ध गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । कुण्डमा दिवङ्गत आमाको मुखसमेत देखिने विश्वाससमेत भक्तजनमा छ ।

समितिले स्थानीयवासीलाई समेत मन्दिरमा गएर भीडभाड नगर्न पनि भनेको छ । यसैबीच चन्द्रागिरि नगरपालिकाले पनि माताततीर्थ मन्दिरमा भीडभाडा नगर्न र अवज्ञा गरी गए १ सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie