मिथिलाञ्चलसहितका क्षेत्रमा आज जुडशितल पर्व मनाइँदै

काठमाडौं : नयाँ वर्ष २०७७ को स्वागत गर्दै आज लकडाउनकाबीच मिथिलाञ्चल लगायत तराई मधेशमा जुडशितल पर्व मनाइँदैछ । हरेक वर्ष वैशाख २ गते तराई मधेशमा यो पर्व मनाइन्छ ।

आजको दिन एकाबिहानै बुवाआमा, गुरु, मान्यजन एवं जेष्ठ सदस्यले आफूभन्दा सानालाई शीरमा एवं तालुमा जल सिंचित गर्दै थपथपाएर आर्शिवाद दिने प्रचलन छ । यसो गर्दा वर्षभरि सितलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति हुन्छ भन्ने जनविश्वास छ ।

कोरोना महामारीको प्रकोपबाट बच्न सरकारले गरेको लकडाउनको कारण यस वर्ष गाउँटोलका जेष्ठ सदस्यले घरमै बसेर आफुभन्दा सानालाई पानी सिंचित गरी आशिर्वाद दिएका छन् । अघिल्ला वर्षहरुमा गाउँका अग्रजहरुले टोलछिमेक घुमेर पनि आफुभन्दा सानालाई आशिर्वाद दिने गरेका थिए ।

आजका दिन तराई मधेशमा रुखविरुवामा पानी सिंचित गर्नुका साथै खेतबारीमा मलजल गर्ने परम्परा पनि छ । जुडशितलको अवसरमा मिथिलाञ्चलका विभिन्न स्थानमा होली पर्व जस्तै हिलोपानी खेल्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

Techie