के यही हो लकडाउन ? सरकारले घरबाट निस्किनु भनेको कि ननिस्किनु ?

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत ११ गते सोमबारबाट नेपाल लकडाउनको घोषणा गर्‍यो । सरकारले अत्यावश्यकबाहेकका सेवा सबै बन्द गर्न भन्दै घरबाट बाहिर निस्किन प्रतिबन्ध लगायो । तर सर्वसाधारण नै लकडाउनलाई अवज्ञा गर्दै घर बाहिर निस्किएर रमिते बन्ने गरेका छन् ।

राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासन लगायतले बारम्बार लकडाउनको पालना गरेर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न आग्रह गर्दै आइरहेका छन् । कयौं ठाउँमा त प्रहरीले लकडाउन अवज्ञा गर्नेलाई कारवाही समेत गरिरहेको छ । तर, लकडाउन आफ्नै स्वास्थ्यको लागि हो भन्ने नबुझी सर्वसाधारणहरु निर्वाध रुपमा चोक चोकमा टहलिन पुगिरहेका देखिन्छन् ।

लकडाउन गर्नुको अर्थ हो, भिडभाड कम गरेर भाइरसको संक्रमण फैलिन नदिनु । तर मानिसहरु केही मतलब नै नगरी घर बाहिर निस्किन्छन् । सर्वसाधारणले नै यस विषयमा हेलचेक्र्याइँ गर्दै जाने हो भने संक्रमण फैलिन केही समय लाग्दैन । आफु घरमा बसेर अरुलाई पनि घरमै बस्न आग्रह गर्नुपर्नेमा स्वयं आफु नै सडकमा रवाफ देखाउँदै हिँडिरहेका छन् । यीनीहरुबाट आम नागरिकले कस्तो शिक्षा लिन ? भन्ने प्रश्न उठ्न थालेको छ ।

आम नागरिकले विश्वका कोरोना भाइरस महामारी फैलिएका देशबाट के सिक्ने ? अरु मुलुकको लकडाउन पनि यस्तै भइरहेको छ त ? किन नागरिक अबुझ हुँदै सरकारको बाध्यकारी निर्णय अवज्ञा गर्दै आफ्नै ज्यान जोखिममा परिरहेका छन् ?

नागरिक आफै सम्यम भएर सतर्कता अपनाउने हो भने भविष्यमा आइपर्ने ठुलो जोखिम टर्न सक्छ । अन्यथा नागरिकको आफ्नै ढिपीले यस कोरोना भाइरसको महामारीलाई रोक्न कठिन पर्ने अवस्था सिर्जन हुन्छ । र यो कुरा नागरिकले नबुझ्ने हो भने हाम्रो जस्तो विकासोन्मुख मुलुकका लागि निकै महँगो सावित हुनेछ ।

हालसम्म नेपालमा ३ जनामा कोरोना भाइरस संक्रमण देखिइसकेको छ । ती मध्ये १ जना स्वस्थ भएर घर फर्किसकेका छन् भने बाँकी २ जना अस्पतालमा उपचाररत छन् । हाल सबैभन्दा बढी कोरोनाको महामारी फैलिएर विश्वमै धेरै ज्यान गुमाउने मुलुक इटालीमा पनि फेब्रुअरी १९ मा नेपालको जस्तै २ जना मात्र संक्रमित थिए । तर पछि नागरिक आफै सचेत नहुँदा आजसम्म आइपुग्दा ७४ हजार ३८६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ७ हजार ५०३ जनाले ज्यान गुमाइसकेका छन् । यहाँबाट हामीले सिक्नुपर्ने कुरा यस महामारीबाट जोगिन नागरिक स्वयं सम्यम भएन भने यो भन्दा निकै ठुलो जोखिम निम्तिन सक्छ ।

तपाईको प्रतिक्रिया

Techie