चीनको नयाँ सुरक्षा कानून अनुसार हङकङ चीनमा विलय हुन सक्ने

एजेन्सी : चीनले सुरक्षा सम्बन्धी नयाँ कानून ल्याउने घोषणा गरेपछि हङकङको अस्तित्व नै अन्त्य हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । हङकङका प्रजातन्त्र पक्षधरहरुले चीनले घोषणा गरेको नयाँ सुरक्षा कानून कार्यान्वयनमा आएमा अन्ततः हङकङको बिलय हुने बताएका हुन् ।

अमेरिकाले पनि चीनको पछिल्लो घोषणाले सो क्षेत्रमा अस्थिरता पैदा गर्ने भन्दै चिन्ता प्रकट गरेको छ । कानून हङकङलाई स्वायत्तता प्रदान गर्ने चीनको वाचा विपरित नयाँ कानून आएको अमेरिकाको भनाइ छ । चीनको नेशनल पिपुल्स कंग्रेसमा आज नयाँ कानूनमाथि छलफल हुँदैछ ।

सो कानूनमा रहेको देशद्रोह र राज्यच्युत सम्बन्धी व्यवस्थाबारे छलफल हुने जनाइएको छ । समर्थकहरुले राजनीतिक प्रदर्शनमा हुने हिंसा नियन्त्रणका लागि नयाँ कानून उपयुक्त हुने बताएका छन् । तर विपक्षीहरुले भने चीनले यसलाई हङकङको आधारभूत स्वतन्त्रता खण्डित गर्नका लागि प्रयोग गर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

गत वर्ष सुपूदर्गी सम्बन्धी विधेयकको विरोधमा दशौँलाख मानिसले हङकङमा सात महिनासम्म प्रदर्शन गरेका थिए । प्रदर्शनपछि विधेयक फिर्ता लिइएको थियो । हङकङको संविधानका अनुसार त्यहाँको सरकारले राष्ट्रिय सुरक्षा सम्बन्धी कानून पारित गर्नु पर्छ ।

चीनले ल्याउन लागेको नयाँ कानून स्वतन्त्रता विरोधी रहेको आवाज उठेकाले सो पास हुन भने कठिन देखिन्छ । बेलायतले हङकङको सार्वभौमसत्ता चीनलाई सुम्पिएसँगै त्यहाँ उच्चस्तरको स्वायत्ततासहित एक देश दुई प्रणाली लागु छ । चीनको हिस्सा भएर पनि हङकङ अलग छ ।

तपाईको प्रतिक्रिया

Techie