नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं : बाँकेको नरैनापुरमा २७ जनासहित आज थप ३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुरका २७ जना र बैतडीका ४ जनासहित ३६ जना नयाँ संक्रमित थपिएका हुन् । यो सँगै आज एकै दिन संक्रमित हुनेको संख्या ६८ पुगेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँकेको नरैनापुरका २७ जनामा कोरोना पोजेटिभ देखिएको हो । नरैनापुरको मदरसाका १७ देखि ३२ वर्ष उमेर समूहका ६ जना, नरैनापुर ३, राष्ट्रिय प्रावि गेगलीमा गरिएको नमुना संकलनमा १६ देखि ३२ उमेर समूहका १५ जनामा पोजेटिभ देखिएको हो । यस्तै नरैनापुर कै १ मा २२ देखि ५० वर्ष उमेर समूहका ६ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । आरडिटी परीक्षण पोजेटिभ आएपछि उनीहरु सेती अस्पतालमा उपचाररत थिए । २० वर्षका २ जना, २२ र २७ वर्षिय पुरुषमा संक्रमण देखिएको हो ।

यसैगरी कोसी अस्पतालमा उपचाररत झापा गाउँपालिका झापाका ३३ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ । सुर्खेतमा २ पुरुष र १ महिला गरी ३ जना र बर्दीयामा १९ वर्षिय पुरुषमा संक्रणम छ । यो सँगै नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

शनिबारसम्म पीसीआर विधिबाट ४५ हजार ९ सय ५७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ४ सय ९४ वटा नमुना परीक्षण पीसीआर विधिबाट भएका छन् । आरडिटी विधिबाट आरडिटी ४ हजार १ सय १९ वटा परीक्षण भएका छन् । अहिलेसम्म ८६ हजार २ सय ३५ वटा आरडिटी परीक्षण भएका छन् । देशभरी ३२ हजार ५ सय ८७ जना क्वारेन्टाइनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

Techie