नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो 

गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा उनको आज विहान मृत्यु भएको हो । अस्पतालले मृत्युको जानकारी गराएपछि पाँच नम्बर प्रदेश सरकारले शव व्यवस्थापनको तयारी अघि बढाएको छ । संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ । बुधबार संक्रमितको मृत्यु भएको हल्ला फैलिएपछि अस्पतालले विज्ञप्ति जारी गर्दै मृत्यु नभएको जनाएको थियो । मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षीय शिक्षकमा गत जेठ पाँच गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी त्यसको एक दिन अघि अस्पतालमा भर्ना भएका थिए । त्यसयता उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो । रुघाखोकी र जण्डिसको समस्या लिएर अस्पताल पुगेका उनीमा संक्रमण कसरी स¥यो भन्ने अझै खुल्न सकेको छैन् । रुपन्देहीमा भर्ना हुनुअघि उपचारका लागि उनी पुगेको अर्घाखाचीको छाया पोलिक्लिनिक सील गरिएको छ । मणिग्रामस्थित क्रिमसन अस्पतालमा नजिकको सम्पर्कमा रहेका तीन जना आफन्त, डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी गरी थप २९ जनाको स्वाब संकलन गरिएको छ । उनीसँग सम्पर्कमा आएका अर्घाखाँचीका १० र गुल्मीका ३० जनाको पनि स्वाब संकलन गरिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि बाँके र सिन्धुपाल्चोकमा एक–एक जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

Techie