नरैनापुरका कोरोना संक्रमितलाई कोहलपुरको कृषि विकास तालिम केन्द्रमा राखियो

काठमाडौं : बाँकेको नरैनापुरका ४१ जना कोरोना संक्रमितलाई कोहलपुरको पिपरीस्थित कृषि विकास तालिम केन्द्रमा राखिएको छ । स्थानीयवासीको चर्को विरोधकाबीच प्रहरीले नेपालगञ्ज लायन्स डेन्टल आइसोलेसन सेन्टरमा रहेका ४१ जना कोरोना संक्रमितलाई गएराति पिपरीमा पुर्‍याएको हो ।

नाराबाजीमा उत्रिएका स्थानीयलाई हटाएर प्रहरीले गएराति दश बजे उनीहरुलाई तालिम केन्द्रमा सारेको हो । नरैनापुरमा ५९ जना संक्रमितमध्येमा केहीलाई पिपरीमा राख्ने निर्णय गरेपछि स्थानीय निरन्तर आन्दोलनमा उत्रिएका थिए । विरोधमा उत्रिएकाहरु रातिसम्म नाराबाजी गर्दै रहेपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बाँकेका संक्रमितमध्ये पिपरीमा ४१ जना, खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन अस्पतालमा २८ जना, नेपालगञ्जको डेन्टल लायन्स आइसोलेसन सेन्टरमा २२ जना र दाङको बेलझुण्डीस्थित अस्पतालमा आठ जनालाई राखिएको छ । बिरामी नभएका संक्रमितलाई आइसोलेसन सेन्टर र बिरामी भएकालाई आइसोलेसन अस्पतालमा राख्ने व्यवस्था मिलाइएको छ ।

तपाईको प्रतिक्रिया

Techie