उदयपुरमा कोरोना पुष्टि भएका १२ जनालाई विराटनगर लगियो

काठमाडौं : नेपालमा एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ । शुक्रबार एकैदिन १३ पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको संख्या ३० पुगेको छ । तिमध्ये पहिलो सङ्क्रमित व्यक्ति निको भएर घर फर्किसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार भेटिएका १४ सङ्क्रमितमध्ये उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा भेटिएका १२ जना पुरुष हुन् । उनीहरु चैत ६ गते दिल्लीबाट नेपाल आएको पुष्टि भएको छ । त्यसैगरी चितवन जिल्लामा एक पुरुष र एक महिला गरी दुई जनामा संक्रमण भेटिएको छ ।

मन्त्रालयका अनुसार चितवनमा पुष्टि भएकामा एक २७ वर्षीय पुरुष र ६३ वर्षीया महिला छन् । उदयपुरमा भेटिएका १२ जना सङ्क्रमितहरू सबै भारतीय नागरिकहरू हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरमा संक्रमण पुष्टि भएका ३४, २९, २६, २२, २५, २०, ४०, २९ र २८ वर्षीय पुरुषहरु रहेका छन् ।

उदयपुरमा भेटिएका १२ संक्रमितलाई उपचारका लागि कोरोना विशेष प्रादेशिक अस्पताल विराटनगर पठाइएको छ । उनीहरुसँगै रहेका अन्य चार नेपालीको पनि स्वाबको पिसिआर परीक्षण गरिएको थियो । रिपोर्ट पोजेटिभ नदेखिए पनि उनीहरुलाई अस्पतालतमा पठाइएको हो ।

पर्सा जिल्लाको छपकैयाँस्थित मस्जिदमा बसेका तीन भारतीय धर्मगुरुमा संक्रमण देखिएपछि उनीहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी र्‍यापिड टेस्ट गरिएको थियो । सोही क्रममा उदयपुरमा थप संक्रमित भेटिएका हुन् । सुरक्षाकर्मीले उदयपुरको मस्जिद र आसपासको क्षेत्रमा हिँडडुल गर्न रोक लगाएका छन् । यो क्षेत्रलाई सील गरिएको छ ।

कोरोना पोजेटिभ देखिएका १२ भारतीय विराटनगरबाट सप्तरी हुँदै उदयपुर आएको भेटिएको छ । उनीहरुले सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा फागुन ३ तीनदेखि ५ गतेसम्म भएको धार्मिक सम्मेलनमा सहभागी हुन आएको बताएका छन् । उनीहरुसँगै आएका ४ नेपाली मोरङका हुन् ।

तपाईको प्रतिक्रिया

Techie