वीरगञ्जमा तीन भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

काठमाडौं : नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पर्साको वीरगन्ज महानगरपालिका छपकैयास्थित मस्जिदमा बसिरहेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण फेला परेको हो । तीनै जनाको नमूना हिजो बाग्मती प्रदेशको राजधानी हेटौंडाको प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

थप प्रष्टताका लागि नमुना पुनः काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा पनि उनीहरुमा कोरोना संक्रमण भएको भेटिएको हो । संक्रमित हुनेमा ५५, ४४ र ३७ बर्षमा तीन जना पुरुष रहेका छन् ।

उनीहरुको सम्पर्कमा रहेका ब्यक्तिहरुको पहिचान गर्ने कार्य भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना पोजेटिभको सुचना पुगेपछि संक्रमितहरुलाई राखिएको वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा आकस्मिक बाहेकका अन्य सेवाहरु बन्द गरिएको छ ।

संक्रमण भेटिने तीनै जना भारतीय मुस्लिम धर्म प्रचारकहरु रहेको बताइएको छ । उनीहरुलाई वीरगञ्ज महानगरपालिका–२ छपकैयाँस्थित मस्जिदबाट नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा सारिएको छ ।

उनीहरुसँगै मस्जिदमा रहेका अन्य २१ जनालाई पनि सिद्धार्थ माबिको क्वारेन्टीनमा सारिएको छ । यसअघि नेपालमा संक्रमण भेटिएका नौ मध्ये एक जना निको भएर घर फर्किसकेका छन । आठ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

Techie