अमेरिकन आइडलको टप १० मा दिवेश पोखरेल

काठमाडौं : नेपाली मुलका दिवेश पोखरेल अमेरिकन आइडलको टप १० मा छनोट भएका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनी टप १० मा स्थान बनाउन सफल भएका हुन् ।

उनले इन्स्टाग्राममार्फत् टम १० मा परेपछि आफु अत्यन्तै खुशी भएको उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘हामी उत्कृष्ट १० मा पर्‍यौं । सुरुवातदेखिको साथका लागि धन्य छु । विश्वभरबाट पाएको मायाका लागि कति खुशी छु भन्ने शब्दमा व्याख्या गर्न सक्दिँन ।’

आर्थर गन उपनामले चिनिने गायक पोखरेल अमेरिकन आइडलको यति माथि पुग्ने उनी पहिलो नेपाली हुन् । २२ वर्षीय पोखरेल कन्सास राज्यको विचिटामा परिवारसँग बस्छन् । ६ वर्षअघि अमेरिका आएका हुन् ।

कोभिड १९ का कारण गत सातादेखि अमेरिकन आइडल घर–घरबाट प्रतिस्पर्धी, जज, संगीतकर्मी, सञ्चालक, प्रशिक्षकलाई जोडेर प्रसारण गरिदैंछ । गत सातादेखि नै प्रतिस्पर्धीलाई भोट दिन मिल्ने भएको छ । पोखरेलको भोटिङ कोड १६ रहेको छ ।

तपाईको प्रतिक्रिया

Techie