संसदमा सरकारको नीति तथा कार्यक्रम आज पेश हुँदै

काठमाडौं : संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम आज पेश हुँदैछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ । त्यसका लागि संसद्को संयुक्त बैठक अपराह्न ४ बजे बोलाइएको छ ।

कोरोना जोखिमका कारण भौतिक दूरी कायम राखेर सञ्चालित भइरहेको बैठकमा अधिकतम सुरक्षा विधि अपनाइएको सचिवालयको भनाइ छ । राष्ट्रपतिको आवागमनका लागि कुनै विशेष प्रबन्ध गरिएको छैन । दुवै सदनमा सम्बोधन भएपछि दुवै सदनका फरक–फरक बैठक बसेर धन्यवादको प्रस्ताव टेबल हुने कार्यक्रम छ ।

त्यसअघि आजै बस्ने मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम अनुमोदन गर्नेछ । सरकारले नीति तथा कार्यक्रममा कोरोना सङ्क्रमणले पारेको बहुपक्षीय असरलाई केन्द्रित गर्ने अनुमान गरिएको छ । नीति तथा कार्यक्रम अनुसार सरकारले वार्षिक बजेट पेस गर्नेछ । सरकारले कोरोना जोखिमसँगै स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जनाका कार्यक्रमलाई मुख्य रूपमा नीति कार्यक्रममा अघि सार्ने तयारी गरेको छ ।

हाल कार्यान्वयनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई केही परिमार्जन गर्ने तयारी पनि सरकारको छ । रोजगारी सिर्जना गर्न कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने र आधुनिकीकरण गर्ने नीति लिने सरकारको तयारी छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कृषि, सिँचाइ जस्ता क्षेत्रसँग पनि जोडेर रोजगारी सिर्जना गर्ने सरकारको तयारी छ । हाल विभिन्न श्रम गन्तव्यमा रहेका नागरिकसमेत फर्कने अवस्थामा रहेकाले सरकारले रोजगारीलाई प्राथमिकतामा राखेको छ ।

तपाईको प्रतिक्रिया

Techie