विश्वभर कोरोना संक्रमितको संख्या ५३ लाख २१ हजार नाघ्यो, तीन लाख ४० हजारभन्दा बढीको मृत्यु

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५३ लाख २१ हजार नाघेको छ । संक्रमणबाट ३ लाख ४० हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९७ हजार ६ सय नाघेको छ । अमेरिकामा १६ लाख ४५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । पछिल्लो समय रुसमा संक्रमण दर तीब्र रुपले बढेको छ । रुसमा संक्रमितको संख्या तीन लाख २६ हजार नाघेको छ भने तीन हजार २ सय ४९ जनाले ज्यान गुमाइसकेका छन् । भारतमा एशियामै सर्वाधिक संख्यामा कोरोना संक्रमित भेटिएका छन् । त्यहाँ संक्रमितको संख्या एक लाख २५ हजार नाघेको छ भने ३ हजार ७ सय २८ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा पनि संक्रमितको संख्या ५२ हजार नाघेको छ । त्यहाँ १ हजार एक सय एक जनाले ज्यान गुमाएका छन् । बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घटेको छ । संक्रमणबाट हालसम्म बेलायतमा ३६ हजार ४ सय, इटलीमा ३२ हजार ६ सय, स्पेनमा २८ हजार ६ सय र फ्रान्समा २८ हजार २ सयभन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर २१ लाख ६० हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

Techie