नायक बन्ने कि खलनायक ?

  • केदार कोइराला

राष्ट्र हाम्राे हाे, राष्ट्रियता हामीलाई प्याराे छ, हामी जनता स्वाभिमानी छाैं । त्यसैले हामी भन्छाैं- राष्ट्र, राष्ट्रियता र स्वाभिमानमा सम्झाैता हुन सक्दैन । नेपाल- भारत सम्बन्ध र सीमा विवाद हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने विषय हाेइन । याे गम्भीर विषय हाे र यसलाई निचाेेडमा पुर्‍याउन परिपक्व कुटनीतिकाे खाँचाे छ । कुटनीतिमा सत्यकुरा गलत मुखबाट निस्कियाे भने त्यसले आफैंलाई “ब्याकफायर” गर्न सक्छ ।

परराष्ट्रमन्त्रीकाे नेतृत्वमा परराष्ट्र सचिवकाे कुशलताकाे आवश्यकता यतिखेर जरूरी छ । परिपक्व मुलुककाे परिपक्व कुटनीति देखाउन सक्नु पर्दछ । अहिले देखिएकाे सीमा समस्यालाई दीर्घकालिन समाधान गर्ने अवसरका रूपमा लिएर वार्ताबाटै समाधान खाेज्नुकाे विकल्प छैन । नेपालले स्वेतपत्र जारी गरेर तथ्य र प्रमाणसहित परिपक्व कुटनीतिक वार्ता थाल्नुकाे विकल्प छैन ।

हामीले आफ्नाे भूमि अधिनमा लिने र भारतलाई स-सम्मान पछि हट्ने वातावरण निर्माण नै अहिलेकाे खाँचाे हाे । पाैंठेजाेरी खाेजेर आगाेमा घिउ थप्ने काम कहिँ कतैबाट कसैले पनि गर्नु हुन्न । प्रतिकुल याे संवेदनशील समयकाे सदुपयाेग हाेस् अनावश्यक बखेडा झिकेर विवाद माथि विवाद सृजना गर्नु बुद्धिमत्ता हाेइन । जटिलताकाे मर्म पीडादायी हुन्छ, पीडामा नुनचुक हाेइन मल्हमकाे आवश्यकता पर्दछ ।

आफ्नाे स्वभिमान रक्षार्थ किमार्थ पछि पर्दैन वीर गाेर्खाली सबैले बुझेकै कुरा हाे । महामारीकाे संकटभित्र भुखमरीले प्रवेश नगराेस् भन्ने तर्फ सचेत हुनै पर्दछ । चाणक्यले उपदेशमा भनेका छन्- “कमाइ पर्याप्त छैन भने खर्च कम गर, जानकारी पर्याप्त नभए शब्दमा नियन्त्रण गर ।”

तथ्य र प्रमाण, सत्य र स्वाभिमान कदापी नभुलाैं । आँखै अगाडि मिचिएकाे लिपुलेक, कालापानि, सुस्ता र माने भञ्ज्याङ यथार्थ बुझेर बुझपचाउँदै गद्दारी गर्नेहरूकाे खाेजी गर्नेतिर पनि लागाैं । महेन्द्रका पालामा छापिएकाे नेपालकाे नक्सा कसले हटायाे ? अँगालाे भरी तथ्य र प्रमाण हुँदा हुँदै बैरीले सीमामा आदिपत्य जमाएर बसेकाे टुलु टुलु हेरेर बस्ने विगतका शासकहरू काे काे थिए ? लिपुलेक, कालापानि नक्साबाट हराउँदा दिल्लीमा राबडी खाएर रमाउने गद्दारकाे जय जयकार गर्ने हामी कति जिम्मेवार छाैं ? आफैंले आफूलाई धिक्कार भन्ने कि नभन्ने ?

भारतले छ दशकदेखी हाम्राे सीमामा कृत्रिम विस्तार गर्दै आएकाे थियाे रे, कमल थापाकाे खुलेकाे चेत हाे याे । सत्ताशुखमा कमल थापाले कहिल्यै कालापानि, लिपुलेक र सुस्तामा सीमा मिचिएकाे देखेनन् । आफैं परराष्ट्रमन्त्री हुँदा मिचिएकाे सीमाभूभाग फिर्ता गर्नेतर्फ कुटनीतिक बहस कहाँ कतिबेला गर्न भ्याए ? अहिले राेइलाे गर्नेमा अग्रमाेर्चामा उभिएका छन् कमल थापा । भारतकाे हण्डी र डण्डीमा आफ्नाे राजनीतिक सुनिश्चितता देख्ने नेताहरूले आफ्नै छातीमा हात राखेर आफ्नै सन्ततिकाे किरीयाखाएर प्रयास्चित गर्न सक्छन् यतिखेर ? यदि सक्छाै भने बाटाे खुल्याे राज्यले आफ्नाे पूर्ण नक्सा तिम्रा हात हातमा पुर्‍याएकाे छ, त्याे नक्सा बमाेजिम आफ्नाे भूमि रक्षार्थ जाइलाग बैरीमाथि ।

कला, साहित्य र सृजनाकाे सीमा हुँदैन तर कलाकार, साहित्यकार र सर्जककाे देश हुन्छ । डा मिनेन्द्र रिजाल र मनिषा काेइरालाकाे राष्ट्रप्रेम प्रति बैरीले बकबक गर्नुकाे कुनै तुक छैन । लिपुलेक सहितकाे नक्सा सार्वजनिक भएपछि तिलमिलाएकाे भारत सरकारले स्वयं वक्तव्य मार्फत स्विकारेकाे सत्य केहाे भने भारतकाे अखण्डता र सार्वभाैमिकताकाे सम्मान नेपालले गर्नु पर्छ रे । हाे, हामीले खाेजेकाे पनि त्यही हाे । आज जसरी नेपालकाे पूर्ण नक्साले भारतियलाई पाेल्याे त्याे पाेलाइकाे रापमा नेपाल र नेपालीले कति पीडा भाेगेका छन् ती दम्भि शासकलाई महसुस हुन्छ ? हेपिनुकाे पनि त सिमा हुन्छ, दादागिरीकाे पनि हद हुन्छ । कहिल्यै गुलामी नस्विकार्ने वर्गका गाेर्खाली हाैं हामी । आज पर्यन्त छिमेकी र उस्काे रवैया फेरिएन भने त्यसकाे प्रतिवाद गर्ने क्षमता राख्छन् नेपालीहरू भन्ने प्रतिनिधि पात्र हुन मिनेन्द्र र मनिषा । याे कुराकाे हेक्का राखाेस् भारतीय सञ्चारमाध्यमले । अब जेहाद छेडिएकाे छ, याे रणभूमिमा काे नायक बन्छ र कसले खलनायककाे भूमिका खेल्छ ? यता तर्फ नेपाली सञ्चार जगत केन्द्रित हुन ढिलाइ गर्नु हुन्न ।

(लेखक एभिन्यूज खबरका खबर प्रमुख हुन् ।)

तपाईको प्रतिक्रिया

Techie