राहत लिन लमतन्ने लाइन : जथाभावी राहत वितरण गर्दा संक्रमणको जोखिम बढ्ने खतरा

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न सरकारले गत चैत ११ गतेबाट देशभर लकडाउन घोषणा गरेको छ । लकडाउनका कारण गरिब तथा विपन्न परिवारहरुलाई खाद्य सामग्रीको अभावका कारण जिविकोपार्जनमै समस्या परेको छ ।

सोही समस्यालाई मध्यनजर गर्दै सरकारले गरिब तथा विपन्न परिवारलाई स्थानीय तहमार्फत राहत उपलब्ध गराउँदै आएको छ । तर, राहत वितरण गर्दा सरकारले सावधानी भने अपनाउन सकेको छैन । सरकारले राहत वितरणमा सावधानी नअपनाउँदा कोरोना भाइरस संक्रमण फैलिन सक्ने जोखिम झनै बढेको पाइन्छ ।

स्थानीय तहले वडा कार्यालयहरुमार्फत राहत वितरण गर्दै आएको छ । राहत लिन मानिसहरु सयौंको संख्यामा पुग्ने गर्छन् र उनीहरुलाई लाइनमा राखेर राहत वितरण गरिन्छ । कोरोना महामारीबाट बच्नका लागि अत्यावश्यक रुपमा लागू गर्नुपर्ने सामाजिक दूरी वा भौतिक दूरी हो । तर यसरी सयौंको संख्यामा मानिसहरु लाइमा बसेर राहत लिँदा सामाजिक दूरी कायम हुँदैन ।

राहतको लाइनमा यदि एक जनामात्र संक्रमित भए उसले त्यहाँ उपस्थित सयौंलाई भाइरस सार्न सक्ने जोखिम हुन्छ । यसरी मानिस जम्मा भइरहने हो भने लकडाउनको समेत केही अर्थ हुँदैन । यस विषयमा पनि सरकारले केही उपाय खोजेर सामाजिक दूरी कायम गरी राहत वितरण गर्नु पर्ने हो । तर, यी साना कुरामा सरकारको ध्यान नजाँदा कोरोना भाइरस संक्रमण फेलिन सक्ने खतरा बढेको छ ।

तस्वीर : रविदास श्रेष्ठ

तपाईको प्रतिक्रिया

Techie