“बैशाख ३ गतेसम्मका लागि तोकिएको लकडाउन अझै लम्बिने”

प्रधानमन्त्री केपी ओलीले बैशाख ३ गतेसम्मका लागि तोकिएको लकडाउन लम्बिने जानकारी गराएका छन । मुख्यमन्त्रीहरुसँग आज सिंहदरबारमा भएको करिव चार घन्टा लामो भिडियो कन्फरेन्समा प्रधानमन्त्रीले यस्तो जानकारी गराएका हुन । उनले लकडाउन छिटो अन्त्य नहुने भएकाले सीमा नाकामा थप कडाइ गरिने पनि बताएका छन । भारतमा संक्रमण फैलने क्रम बढिरहेकाले लकडाउन खुल्ला गर्ने कुरा हुनै नसक्ने जानकारी गराएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

संक्रमण रोक्नका लागि सामाजिक दूरी कायम गर्नुको विकल्प नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लकडाउनमा नरम बनेर लापरबाही गर्न कसैलाई छुट नहुने पनि स्पष्ट पारेका छन । भिडियो कन्फरेन्सका क्रममा उनले महामारी बिरुद्ध जननिर्वाचित सरकारले नै काम गर्ने भन्दै उच्चस्तरीय राजनीतिक संयन्त्र आवश्यक नपर्ने पनि स्पष्ट पारेको सल्लाहकार थापाले बताए ।

छलफलमा मुख्यमन्त्रीहरुले पनि सीमामा थप कडाइ गर्न र नेपालतर्फ थप सुरक्षाकर्मी परिचालन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । साथै प्रदेशमा देखिएको स्वास्थ्य सामग्री अभावको समस्या पनि चाँडो समाधान गर्न उनीहरुले ध्यानाकर्षण गराए । त्यस्तै बैठकमा संक्रमण नियन्त्रणका लागि कोरोना आशंका गरिएका ब्यक्तिहरुको परीक्षणलाई तिब्र बनाउनुपर्ने माग पनि उठेको छ । भिडियो कन्फ्रेन्समा कोरोना भाइरसको नियन्त्रणका लागि नपुगेका प्रयासहरुमा जोड दिने र समन्वयात्मक रुपमा संघ, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्ने समझदारी भएको छ ।

तपाईको प्रतिक्रिया

Techie