सामाजिक सुरक्षा कोषको विषयले हानमा हानहानको स्थिति, हेर्नुहोस् भिडियो

काठमाडौं : तारे होटलका मजदुरहरु होटेल एसोसिएसन नेपाल (हान)को नेतृत्वका विरुद्ध मात्रै नभएर आफ्नै मजुदुर नेताहरुको समेत विरोधमा उत्रिएका छन् । विरोधको विषय हो सामाजिक सुरक्षा कोषमा दर्ता हुृनुअधि विभिन्न कोषहरुमा सञ्चित रकम फरफारक गर्नुपर्ने र पुरानो खाइपाई पाई आएको सेवासुविधामा कटौती गर्न नपाइने माग ।

उनीहरुको गुनसो यो छ कि, सामाजिक सुरक्षा कोषमा दर्ता हुने नाममा मजदुरहरुको खाईपाई आएको सेवा सुविधा कटौति गर्न खोजियो । होटल संचालकहरु उपदान कोष, आवास कोष, उपचार कोष लगायतका विभिन्न कल्याणकारी कोषहरुमा सञ्चित करोडौंको रकम पचाउने दाउमा लागेको भन्दै त्यसो गर्न नदिन उनीहरु आन्दोलित भएका हुन् ।

मजदुरहरुले पटक पटक आफ्नो भाग नखोस्न मालिकहरुलाई सचेत तुल्याउँदै आएका छन् । सामाजिक सुरक्षा कोषलाई पनि यो विषयमा ध्यानाकर्षण गराएका छन् र श्रम कार्यालयमा मुद्दा समेत दायर गरिसकेका छन् । उनीहरुले यससङ्ग सम्बुिन्धत सबै सरकारी निकायहरु गुहारिसकेका छन् । तर कतैबाट पनि चित्तबुझ्दो जवाफ नपाएपछि आफ्नो हकहितको सुरक्षाको लागि आन्दोलन गर्न बाध्य भएको प्रतिक्रिया दिइरहेका छन् ।

सामाजिक सुरक्षाकोषमा दर्ता हुनुअघि सहमति जुटाउने उद्देश्यले होटेल व्यवसायी र मजदुर नेताहरुको संयुक्त टाक्सफोर्स निर्माण गरिएको थियो । जुन टाक्सफोर्सले यही हान कार्यालयमै रहेर कार्य सञ्चालन गर्दछ । सो टाक्सफोर्समा रहेका मजदुर नेताहरु समेत होटेल मालिकहरुको प्रभावमा परेका आरोप लगाउँदै मजदुरहरुले सो टाक्सफोर्स समेत विघटन हुनुपर्ने माग राखेका छन् ।

त्यसो त हानले सरकारको लाचारीको फाइदा उठाएको आरोप पनि लाग्दै आएको छ । यो वा त्यो वहानामा सरकारको नीति मान्दिन भन्ने वा नमान्ने मालिकहरुप्रति सरकार कठोर हुने हो भने यसको समाधान सहजै आउनेछ । तर सरकार किन प्रभावकारी ढंगले आफ्नो एक महत्वाकाँक्षी योजना लागु गराउन संवेदनशील बनेको छैन ? यो आफैमा रहस्यको विषय बनेको छ ।

यता हान भने सबै कुरा नियमबमोजिम नै हुने बताइरहेको छ । त्यसो भए विवाद किन भयो त ? किनकि हानसङ्ग सम्वन्धित व्यवक्तिहरु यसरी घुमाउन सक्ने क्षमताका छन् ।

कामदार कर्मचारीहरुको उपदानवाफतको करौडौंको रकम तत्काल तिर्न समस्या भएकाले यो प्रक्रिया लम्विएको हानको भनाई छ । र केही दिनमै यसको समाधान आउने बताइरहेको छ हान ।

होटेल मालिकहरु आफ्ना कामदारसङ्ग कुराकानी गर्नुको साटो विभिन्न शक्तिकेन्द्र धाउन थालेको मजदुरहरुको आरोप छ । उनीहरु भनिरहेका छन्, होटेल मालिकहरु हाम्रो भागको पैसा अरुलाई खुवाउन तयार छन् तर हामीलाई दिन तयार छैनन् । त्यसैले होटेल मालिकहरुलाई उल्टो बाटो हिँडेर आफै फसिने खाल्डो नखन्न समेत सचेत गराइरहेका छन् मजदुरहरु

सामाजिक सुरक्षा व्यवस्था आफैमा राम्रो व्यवस्था हो । तर नेपालमा यसको कार्यान्वय उल्टो दिशाबाट सुरु भएकाले समस्या आएको जानकारहरुको भनाई छ । जुन वर्ग सामाजिक सुरक्षाबाट बञ्चित थियो त्यही बर्गबाट यसको सुरुवात गर्नुपर्ने हो । तर सरकारले सेवा सुविधाबाट बञ्चितहरुलाई छोएको पनि छैन । जसले सकारले दिन खोजेको सेवा सुविधाभन्दा बढी सेवासुविधा उपभोग गर्दै आएका छन्, तिनीहरुलाई खाइपाई आएको सेवासुविधा समेत खोसिने गरी सुरक्षा व्यवस्था लागु गर्न खोजेको छ ।

हो, सामाजिक सुरक्षा व्यवस्था चरणबद्ध रुपमा लागु गर्नु पथ्र्यो । भिभिन्न सेवा क्षेत्र वा भौगोलिक क्षेत्रमा परीक्षण गरी त्यसमा सफलता हासिल भएपछि यसलाई देशव्यापी रुपमा लागु गर्नुपर्ने थियो । तर एकैपटक सबै क्षेत्रलाई समेट्न खोज्दा समस्या निम्तिएको छ । सामाजिक सुरक्षा कोषमा दर्ता हुन आउने कामदार कर्मचारी संस्थाहरुमा खासै उत्साह नदेखिनुले कतै यो असफलतातिर उन्मुख त छैन भन्ने आशंका बढ्न थालेको छ । यसको सफल कार्यान्यवयनका लागि के गर्नुपथ्र्यो त ?

सबैभन्दा अनौठो कुरा त के छ भने कोषको सञ्चालक समिति सदस्यहरुले नै आफ्ना संस्थामा कार्यरत कामदार कर्मचारीहरुलाई कोषमा दर्ता गराएका छैनन् । कोषलाई पनि यो सबै कुराको जानकारी छ । र श्रम मन्त्रालय पनि यो विषयमा अनभिज्ञ छैन । तर यी दुवै निकाय नै केही थाहा नपाएको ढोंग गरेर बसेका छन् । कुनै हस्तक्षेपकारी र निर्णायक कदम चाल्न सकेका छैनन् । यो जटिल परिस्थितिमा समेत कोष भने अहिले आफू ठिक बाटोमा रहेको दावी र्गछ ।

यसअघि यत्तिकै महत्वाकाँक्षा सहित ल्याइएको सामाजिक सुरक्षा कर असफल भइसकेको छ । सामाजिक सुरक्षा कर बाफत जम्मा भएको २२ अर्व भन्दा बढी रकम अर्थ मन्त्रालयमै थन्किएको छ । यही अवस्था कायम रहने हो भने सामाजिक सृुरक्षा कोषले समेत त्यही नियती भोग्नु नपर्ला भन्न सकिदैन । यसतर्फ सम्बन्धित सबै निकाय सजक हुन आवस्यक छ । र समय रहदै प्रभावकारी कदम चाल्न आवस्यक छ ।

नीजी क्षेत्रका कामदार कर्मचारीहरुलाई पनि सरकारी सरह सेवा सुविधा प्रदान गर्ने उद्देश्य लिई नयाँ युगको प्रारम्भ भन्दै निकै तामझाम सहित घोषणा गरिएको थियो योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम । एक वर्ष एक महिना अघि गरिएको यसको भव्य उद्घाटन समारोहमा प्रधानमन्त्री केपी सर्मा ओलीले यसका फाइदाहरु बारे यसरी बताएका थिए ।

सोही कार्यक्रममा प्रधानमन्त्रीले यो कार्यक्रमको घोषणा ति धेरै तामझाम सहित किन गरियो भन्ने कुराको जवाफ पनि दिएका थिए । तर प्रधानमन्त्री केपी सर्मा ओलीले यो सामाजिक सुरक्षा व्यवस्थाको उद्घाटन गर्दा जसरी हँसाएका थिए, अहिले आएर सामाजिक सुरक्षा कोषको अवस्था पनि त्यस्तै जग हँसाईको विषय त वन्दै छैन, भन्ने चिन्ता वढ्न थालेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम आरम्भ भएको १ वर्ष २ महिना वितिसक्दा पनि यसको सफल कार्यान्वयन चुनौतिपूर्ण बनेको छ । योजना लागु भएको पहिलो वर्षमा ३ लाख प्रतिष्ठानहरु तथा ९ लाख मजदुर कर्मचारीहरु कोषमा दर्ता हुने लक्ष्य लिइएको थियो । त्यस्तै योजना लागु भएको पहिलो ३ महिनामा ५० हजार प्रतिष्ठान दर्ता हुन आउने अपेक्षा गरिएको थियो । तर कोषमा दर्ता हुन आउने समय ३ पटक सम्म थप्दा पनि रोजगारदाता तथा कामदार कर्मचारीहरुमा खासै उत्साह देखिएको छैन । अहिले सम्म कोषमा ११ हजार ८ सय रोजगारदाता र करिव १ लाख ३२ हजारको हाराहारीमा कामदार कर्मचारीहरु सुचिकृत भएका छन् ।

सामाजिक सुरक्षा योजनाले विशेष गरेर ४ ओटा शिर्षकमा सुरक्षाको प्रत्याभुति दिन्छ । जसमा औषधी उपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्थाको सुरक्षा योजना रहेका छन् ।

यसका लागि कामदार कर्मचारीको खाइपाई आएको सेवा सृुविधाबाट ११ प्रतिशत रकम कटौति गरेर र २० प्रतिशत रकम रोजगारदाताले व्यहोर्ने गरी जम्मा ३१ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने व्यवस्था छ । सोही रकम मार्फत कोषले विभिन्न शिर्षकहरुमा कर्मचारी कामदार र आश्रित परिवारको आर्थिक सुरक्षाको प्रत्याभुति प्रदान गर्दछ ।

विशेष गरेर लोककल्याणकारी राज्यमा विश्वास गर्ने राज्यहरुले आफ्ना नागरिकहरुको आर्थिक आवस्यकतालाई ध्यानमा राखेर यस किसिमका सेवा सुविधा प्रधान गर्ने गर्दछन् ।

नेपालमा पनि सोही अवधारणा अनुरुप २०७५ मंशिर ६ गते घोषणा भई मंशिर ११ गते यसको औपचारिक शुभारम्भ गरिएको थियो । तर कार्यक्रम आरम्भ भएको १ वर्ष १ महिना वितिसक्दा पनि सुचिकृत हुन आउने संस्था तथा योगदानकर्ता कामदार कर्मचारीहरुमा भने खासै उत्साह नदेखिनुले यसको कार्यान्वयन पक्ष चुनौतिपूर्ण बनेको छ ।

तपाईको प्रतिक्रिया

Techie