कोरोना संक्रमण बढे पनि राष्ट्रिय सभा निर्वाचन तालिकामा फरक नपर्ने

  निर्वाचन तोकिएकै मितिमा हुने आयोगको भनाइ

निर्वाचन आयोगले कोरोना संक्रमण बढ्दो क्रममा रहेपनि राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा फरक नपर्ने जनाएको छ । आयोगले स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते नै गर्ने जानकारी दिएको हो । राष्ट्रिय सभाको मतदानका लागि मतदाता संख्या सीमित रहेकाले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित कार्यक्रम बमोजिम नै मतदान हुने आयोगले प्रस्ट पारेको छ । आवश्यक परे आयोगको प्रदेशस्थित कार्यालय र निर्वाचन अधिकृतले स्वास्थ्य मापदण्डबारे स्थानीयस्तरको कोभिड व्यवस्थापन संयन्त्रसँग सहयोग र सुझाव लिने आयोगको तयारी छ । आयोगले हाल आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकेको छ । प्रत्येक मतदानस्थलमा दुुई–दुुईवटा मतदान केन्द्र रहनेछन् । सातवटै प्रदेशका आठ मतदानस्थलमा १४ मतदान केन्द्र तोकिएका छन् । प्रदेश १ मा भने प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै ठाउँमा दुईवटा मतदानस्थल रहनेछन् । राष्ट्रिय सभाको १९ सदस्यका लागि माघ १२ गतेका लागि तय गरिएको मतदान सातवटै प्रदेशमा हुनेछ । सातवटै प्रदेशमा कुल दुुई हजार २५ जना मतदाता छन् । ५ सय ३२ प्रदेश सभा सदस्य र एक हजार ४ सय ९३ स्थानीय तहका प्रमुख र उपप्रमुख राष्ट्रिय सभा सदस्यको मतदाता छन् ।।

तपाईको प्रतिक्रिया

Techie