काठमाडौंसहित आठ जिल्लामा फाइजर खोप अभियान स्थगित

सिरिञ्ज अभावले बालबालिकाको खोप अभियान प्रभावित

काठमाडौं उपत्यकासहित आठ जिल्लाका बालबालिकाका लागि मंगलबारवाट सुरु हुने भनिएको खोप अभियान स्थगित भएको छ । भोलीदेखि लगाउने भनेको फाइजर खोप अभियान सिरिञ्ज अभावका कारण स्थगित भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस १३ गतेदेखि ८ जिल्लाका १२–१७ वर्षका बालबालिकालाई लक्षित गरी फाइजर खोप अभियान सञ्चालन गर्ने सूचना जारी गरेको थियो । खोपका लागि आवश्यक पर्ने सिरिञ्ज पर्याप्त नभएकाले अभियान प्रभावित भएको स्वास्थ्य मन्त्रालयको खोप शाखाले जनाएको छ । सिरिञ्ज आउने क्रममा रहेकाले केही दिनपछि खोप अभियान थालिने मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबारदेखि काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतमा फाइजर खोप सञ्चालन गर्ने कार्यतालिका बनाएको थियो । ती जिल्लामा २२ गतेसम्म फाइजर खोपको पहिलो डोज र माघ ४ देखि १३ गतेसम्म दोस्रो डोज दिने सरकारको तालिका थियो । सरकारले कोभ्याक्स सुविधाअन्तर्गत ६ लाख २० हजार डोज फाइजर खोप प्राप्त हुने सुनिश्चित भएपछि बालबालिकालाई खोप लगाउने योजना बनाएको थियो । मन्त्रालयले पुस ३ गतेदेखि ५७ जिल्लाका बालबालिकालाई भने मोडेर्ना खोप अभियान सञ्चालन गरिरहेको छ । सरकारले बालबालिका लागि थप ६० लाख मात्रा फाइजर खोप खरिद प्रक्रिया अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया

Techie