एमाले महाधिवेशन अन्तर्गत बन्द सत्र सौरहामा शुरु  

नयाँ नेतृत्व चयन प्रक्रियापनि अघि बढदै

नेकपा एमालेको दशौ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बन्दसत्र चितवनको सौरहामा सुरु भएको छ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उदघाटन भएको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा सुरु भएको हो । उदघाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा महाधिवेशनमा सहभागी हुन विभिन्न देशवाट आएका प्रतिनिधिहरुले सम्बोधन गर्ने कार्यसूचि छ । एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेताहरु आएका छन् । आजै नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयन हुने छ । महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय उपकरणबाट पहिलोपटक मतदान हुने भएको छ । मतदानका लागि ९२ वटा उपकरण प्रयोग गरिने जानकारी दिए । महाधिवेशनमा दुइ हजार तीन सय २७ जना प्रतिनिधिले सहभागी छन । उम्मेदवारको मनोनयन गरिसकेपछि आइतबार बिहानैदेखि मतदान गर्ने तयारी छ ।।

नेकपा एमालेले दश औं महाधिवेशनमा नेतृत्व चयन प्रक्रियालाई सकेसम्म सर्वसम्मत बनाउने पहल हुने भएको छ । बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल ल्याउने तयारी गरिएको छ । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावललाई उपाध्यक्ष बनाउन ओलीले पहल गरेका छन । अष्टलक्ष्मी शाक्यलाई पनि उपाध्यक्ष बनाइने भएको छ । वर्तमान उपाध्यक्ष युवराज ज्ञवालीलाई अनुशासन आयोगका प्रमुख बनाइने भएको छ । घनश्याम भूसाललाई उपमहासचिवबाट उपाध्यक्षमा लैजाने तयारी छ । वरिष्ठ उपाध्यक्ष दावी गरेका सुवास नेम्वाङलाई भविष्यमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख जस्ता पदमा सिफारिस गर्ने गरि सहमतिको प्रयास हुने भएको छ । पूर्व माओवादी केन्द्रबाट एमालेमा गएका रामबहादुर थापाले पनि उपाध्यक्षको जिम्मेवारी पाउने भएका छन । महासचिवमा विष्णु पौडेल, शंकर पोखरेल र सुरेन्द्र पाण्डेले दाबी गरेपनि दुई जनालाई उपाध्यक्ष बनाएर शंकर पोखरेललाई महासचिव बनाउने तयारी अध्यक्ष ओलीले गरेका छन । प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरुङ, बिन्दा पाण्डे, टोपबहादुर रायमाझी र लेखराज भट्टमध्येवाट उपमहासचिव चयन हुनेछन । सचिवमा योगेश भट्टराई, भीम आचार्य, शिवमाया तुम्वाहाङ्फे, पद्मा अर्याल, शेरबहादुर तामाङको नाम चर्चामा छ । महेश बस्नेत, खगराज अधिकारी, भानुभक्त ढकाल, कर्ण थापालगायतले पनि सचिवमा उम्मेदवारी घोषणा गरेका छन । नेता व्यवस्थापनकै लागि एमालेले १९ सदस्यीय पदाधिकारी, ९९ सदस्यीय पोलिटब्युरो र तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरिसकेको छ ।

उम्मेदवारी कायमै

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताएका छन् । एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष रावलले उम्मेदवारी दर्ता गर्ने बताएका हुन । फिर्ता लिनको लागि उम्मेदवारी घोषणा नगरेको उनको भनाइ छ । उनले फिर्ताको लागि आग्रह र दबाबसमेत आएको बताएका छन । अध्यक्षमा ओली सर्वसम्मत रूपमा आउने भनेपनि रावलले ओलीलाई चुनौती दिँदै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

निर्वाचन आचारसंहिता

नेकपा एमालेले १०औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन आचारसंहिता तयार गरेको छ । दसौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचनका लागि निर्वाचन समितिले आचारसंहिता जारी गरेको हो । आचारसंहितामा कुनै धर्म, सम्प्रदाय, जातजाति, लिङ्ग, भाषा, समुदायका आधारमा घृणा, द्वेष उत्पन्न हुने वा सद्भाव खलबलिने गरि कुनै क्रियाकलाप गर्न नपाउने उल्लेख छ । निजी जीवनलाई आघात पुग्ने गरी आलोचना गर्न गराउन पनि बन्देज लगाइएको छ । धूम्रपान, मद्यपान तथा लागु पदार्थ सेवन गरी तोकिएको निर्वाचन क्षेत्रभित्र प्रवेश गर्न पनि रोक लगाइएको छ । मतदानस्थल र मत गणनास्थलमा मोबाइल फोनको प्रयोग गर्न पनि रोक लगाइएको छ । सामान्य भिजिटिङ कार्ड आकारको पर्चा भन्दा बाहेक अन्य कुनै पनि प्रकारको प्रचार सामग्री प्रदर्शनमा पनि रोक लगाइएको छ । समूहगत रूपमा छुट्टै भेला तथा बैठक गर्न गर्न पनि नपाइने नियम बनाइएको छ । आचारसंहिता पालना नगर्ने उम्मेदवारको नाम मतदाताको सूचीबाट नाम हटाउने वा रद्द गर्ने सम्मको कारबाही हुन सक्ने एमालेले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie