नेकपा एमालेको १०औं महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदै

अध्यक्षलगायतका शीर्ष नेता महाधिवेशनस्थल पुग्दै

शुक्रबारवाट चितवनमा सुरु हुने १०औं महाधिवेशनका लागि नेकपा एमालेका अध्यक्ष केपी ओली लगायतका शिर्ष नेता आज चितवन पुग्दैछन । नयाँ नेतृत्व चयनका लागि भोलीदेखि १२ गतेसम्म चितवनमा एमालेको महाधिवेशन हुँदैछ । ५ लाख जनसहभागिता गराउने गरी एमालेले शुक्रबार चितवनमा महाधिवेशन उदघाटन गर्दैछ । चितवनमा आयोजना हुन लागेको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि नेता, कार्यकर्ता र मजदुर रातभर काममा खटिएका छन् । तीन सय जना मानिस अटाउने मञ्च निर्माण भैरहेको छ । त्यसैगरी उद्घाटन समारोहको प्रत्यक्ष प्रसारणका लागि नदी किनारमा पाँचवटा एलसीडी स्क्रिन पनि राखिनेछ । यसका साथै एमालेले आफ्ना नेता, कार्यकर्ताका लागि सेल्फी प्वाइन्ट पनि नारायणी नदी किनारमा बनाएको छ । मञ्च निर्माणमा मात्र एमालेले करिब ४० लाख रुपैयाँ लगानी गरेको छ । महाधिवेशनको लागि ४ हजार बस बुकिङ भइसकेको नेकपा एमालेले जनाएको छ । चितवनसहित बागमती प्रदेशबाट करिब ३ लाख मानिस सहभागी हुने अपेक्षा छ । प्रदेश २ बाट १ लाख मानिस आउने बताइएको छ । लुम्बिनीबाट ७५ हजार, गण्डकीबाट ५० हजार र प्रदेश १ बाट २५ देखि ३० हजार मानिस आउने एमालेको अपेक्षा छ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट स्वस्फुर्त रुपमा कति आउने एकीन भएको छैन । पार्टीको दशौँ महाधिवेशन गर्न लागेको एमालेले चितवनका ११ ठाउँमा पार्किङको व्यवस्था गरेको जनाएको छ । शुक्रबार नारायणगढ भरतपुर क्षेत्रका राजमार्ग र अन्य मुख्य सहरी क्षेत्रमा गाडी चलाउन रोक लगाइएको छ । महाधिवेशनको बन्दसत्र सौराहको सेभेन स्टार होटलमा ११ र १२ मंसिरमा हुँदैछ ।

शीर्ष नेता चितवन जाने

नेकपा एमालेको १०औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार चितवन गएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । देउवा हेलिकोप्टरबाट चितवन जाने तय भएको हो । नारायणी नदी किनारमा हुने महाधिवेशन उदघाटन सत्रमा सम्बोधन गरेर दिउँसो देउवा काठमाडौं फर्कने चितवन प्रशासनले जनाएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी लोकतान्त्रिक का महन्थ ठाकुर वा राजेन्द्र महतोपनि उदघाटन समारोहमा सहभागी हुने भएका छन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने जाने या अरु प्रतिनिधि पठाउने निश्चित भएको छैन । अन्य राजनीतिक दलका नेतासमेत आउने कार्यक्रममा सहभागी हुने बताइएको छ । महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत चितवन पुग्दैछन । महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ । बन्दसत्र सौराहामा गरिँदै छ ।

तपाईको प्रतिक्रिया

Techie