महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै

ग्लोवल छनोटका लागि नेपाल जित्नैपर्ने दवावमा

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र कुवेतबीचको खेल दुबईको आईसीसी एकेडेमी मैदानमा सवा एघार बजे हुनेछ । ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले कुवेतविरुद्ध जित हासिल गर्नुपर्ने दवावमा नेपाल रहेको छ । पछिल्लोपटक २०१९ मा भएको भेटमा नेपालले कुवेतलाई ३० रनले हराएको थियो । नेपाल पहिलो खेलमा हङकङसँग छ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई आठ विकेटले हराएको थियो । कुवेत भने अघिल्ला दुई खेलमा भुटान र मलेसिया दुबै मुलुकसँग पराजित भएको छ । छनोटअन्तर्गत युएई लगातार दुई खेल जित्दै चार अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । एक–एक खेल जितेका नेपाल, मलेसिया, हङकङ र भुटानले समान दुई–दुई अंक जोडेपनि नेट रनरेटका आधारमा नेपाल दोस्रो, मलेसिया तेस्रो, हङकङ चौथो र भुटान पाँचौ स्थानमा रहेका छन् । प्रतियोगिताको चौथो खेल नेपालले शुक्रबार मलेसियाविरुद्ध र पाँचौ खेल आइतबार युएईविरुद्ध खेल्ने छ । छनोटमा छ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

तपाईको प्रतिक्रिया

Techie