अमेरिकाले ताइवानलाई सम्मेलनमा निम्त्यापछि चीन क्रुद्ध

एजेन्सी । अमेरिकाले ताइवानलाई ‘प्रजातन्त्रका लागि सम्मेलन’ मा सहभागी हुन निम्तो दिएको छ। अमेरिकाले डिसेम्बरमा आयोजना गर्न लागेको ‘समिट फर डेमोक्रेसी’ मा निमन्त्रणा गरेका देशहरूको सूचीमा ताइवानको पनि नाम छ ।अमेरिकाले ताइवानलाई सम्मेलनमा निम्त्याएपछि चीन भने अमेरिकासँग क्रुद्ध भएको छ। चीनले ताइवानलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको छैन र चीनकै अविभाज्य भूभाग भएको मान्यता राख्छ।
चिनियाँ विदेश मन्त्रालयले भने ताइवानलाई निम्त्याइकोमा कडा विरोध जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता चाओ लिच्यानले पैचिङमा पत्रकारमाझ भने, ‘अमेरिकी क्रियाकलापले ऊ प्रदर्शन प्रजातन्त्रको आवरणमा र माध्यम बनाएर विश्वलाई विभाजन गरेर अन्य राष्ट्रलाई दबाएर आफ्ना स्वार्थपूर्ति गर्नका लागि मात्र अघि बढेको प्रष्ट छ।’

अमेरिकी विदेश मन्त्रालयले सम्मेलनमा १ सय १० राष्ट्रलाई निम्त्याएको छ। आगामी डिसेम्बर ९-१० मा हुने अनलाइन (भर्चुअल) सम्मेलनमा अमेरिकाले चीन र रुसलाई निमन्त्रणा गरेको छैन।​ अमेरिकी विदेश मन्त्रालयले सम्मेलनमा सहभागी हुन फ्रान्स, स्विडेन, फिलिपिन्स, भारत र पोल्यान्डलगायत देशलाई निम्त्याएको छ। यसैगरी अमेरिकाले एसियामा उसका सहयोगी देश जापान, दक्षिण कोरियालाई पनि सम्मेलनमा डाकेको छ। तर, थाइल्यान्ड र भियतनामलाई भने बोलाएको छैन।त्यस्तै अमेरिकाले इजिप्ट र नेटो सदस्य टर्कीलाई सम्मेलनमा डाकेको छैन। खाडी क्षेत्रबाट सम्मेलनमा इजरायल र इराकबाहेक अरू देशलाई अमेरिकाले निम्त्याएको छैन।

दुईदिने सम्मेलनले विश्वव्यापी तवरमा खस्कँदै गएको स्वतन्त्रता, अधिकार र प्रजातन्त्रको स्थितिमा सुधार ल्याउने अपेक्षा अमेरिकाले राखेको छ।

तपाईको प्रतिक्रिया

Techie