कांग्रेस महाधिवेशन: बागलुङमा युवाहरुको उत्साहजनक प्रतिष्पर्धा

बाग्लुङ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि बागलुङ जिल्लामा युवाहरुको प्रतिष्पर्धा उत्साहजनक देखिएको छ । वडा सभापतिमा २० देखि ३० वर्ष उमेर समूहका युवाहरु निर्वाचित भएपछि त्यसपछिका अधिवेशनमा पनि युवाको लहर बढेको हो । निर्वाचन प्रजातान्त्रिक भएपनि चुनाव भड्किलो र खर्चिलो बन्दै गएकोमा भने युवाहरू चिन्तित छन् ।
नेपाली कांग्रेसको १४ओँै महाधिवेशन नजिकिँदै गर्दा गाउँ नगर हुदै क्षेत्रीय तहको अधिवेशन युवाहरुको प्रतिनिधित्व बढ्दै गएको छ । राजनीतिप्रति युवा जनशक्ति आकर्षित नभएका बेला यसपटकको कांग्रेस अधिवेशनमा बागलुङमा भने युवाहरूको सहभागिता बढ्दै गएको छ । केही गर्छु भन्ने अठोटका साथ राजनीतिमा लागेपनि अधिवेशन भड्किलो र खर्चिलो भएको भन्दै त्यसलाई रोक्नुपर्ने माग युवाहरुले गरेका छन् ।

पार्टीलाई नयाँ प्रविधिसंग जोड्न र चलायमान बनाउन राजनीतिको मुल धारमा युवा पंक्तिलाई ल्याउनुपर्नेमा युवा नेताहरुले जोड दिएका छन् । कांग्रेसमा बिचार र सिद्धान्त भन्दा पनि गुटबन्दी हावी हुँदा पैसा र शक्ति कै चलखेल हुने कारणले पनि युवापंक्ति पछि परेको केही युवा नेताको गुनासो छ ।

कांग्रेसको आन्तरिक निर्वाचनमा यसपटक बागलुङमा देउवा गुट र पौडेल गुटबीच चर्को राजनीतिक प्रतिस्पर्धा भएको थियो । चर्को प्रतिस्पर्धाका बीच उल्लेख्य संख्यामा द्ुवै समूहबाट युवाहरु नेतृत्वमा चयन भइरहेका छन् ।

तपाईको प्रतिक्रिया

Techie