नक्कली मतपत्र भेटिएपछि काँग्रेसको ओखलढुंगा जिल्ला अधिवेशन स्थगन

ओखलढुंगा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ओखलढुंगाको जिल्ला अधिवेशन विवादित बनेको छ ।  मंगलबार अधिवेशनका लागि मतदान सुरु हुनु केही समयअघि नक्कली मतपत्र भेटिएपछि अधिवेशन प्रक्रिया स्थगन भएको छ । महाधिवेशन प्रतिनिधिका उमेदवार खिला कार्कीले दिएको जानकारीअनुसार संस्थापन पक्षबाट सभापतिका उमेदवार तेजन खनाल (तेजेन्द्र)सहितको टिमले नक्कली मतपत्र बनाएको हो । उक्त मतपत्रमा खनाल सहितका पदाधिकारी र सदस्यहरूको नाममा टिक चिह्न लगाएको पाइएको छ । “निर्वाचन समितिले तोकेकै प्रेसबाट सोही गुणस्तरको सोही मतपत्र छापेर टिक लगाएर बाँड्ने तयारी गरेको पाइएपछि मतदान प्रक्रिया स्थगित भएको छ,” कार्कीले बताए ।


निर्वाचन समितिको स्वीकृतिमै मतपत्र छापेको भनेर प्रेस सञ्चालकले जनाएको कार्कीले बताए । आफूहरूले विरोध गर्दै स्पष्टीकरण मागेपछि वर्तमान सभापति प्रदीप सुनुवारले तरुण दलका जिल्ला उपाध्यक्ष उत्तम थापालाई हातपात गरेको कार्कीले जानकारी दिए ।
यो घटनापछि जिल्लामा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रदेश अधिवेशनमा पनि आशंका गरेको छ । प्रदेश अधिवेश सम्पन्न भएर नतिजा आएसँगै धाँधली भएको हुन सक्ने भन्दै सो समूहले प्रदेश अधिवेशन पुनः गराउन माग गरेको छ ।
प्रदेश ‘ख’मा हार स्वीकार गरेको संस्थापन समूहले ४३ मतले जितेको थियो । यसमा पनि आशंका गर्दै पुन प्रदेश अधिवेशनको माग गरिरहेको कार्कीले बताए ।
“ओखलढुंगा जिल्ला अधिवेशनका लागि मतदान गर्ने तयारी गरिएपनि पौडेल समूह अधिवेशन बहिष्कार गरेर हिँडेको छ,” कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

Techie