तीन कम्पनीका झन्डै ६० लाख डोज खोप नेपाल भित्रिदै

 कम उमेरका नागरिकका लागि खोप अभियानको तयारी

स्वास्थ्य मन्त्रालयले डेढ महिनाभित्र नेपालमा तीन कम्पनीका झन्डै ६० लाख डोज खोप नेपाल आइपुग्न लागेको जानकारी दिएको छ । भेरोसेल, फाइजर र कोभिडसिल्ड थप खोप आउन लागेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जानकारी दिएको हो । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाबाट कोभ्याक्स सुविधाअन्तर्गत खरिद गरी ल्याउने ६० लाख डोज खोपमध्ये नोभेम्बरभित्र करिब १५ लाख आउने निश्चित भएको छ । त्यस्तै बाँकी खोप चरणबद्ध रूपमा आइपुग्ने विभागले जनाएको छ । चीनबाट पनि ६० लाख डोज खरिद सम्झौता भइसकेकोमा बाँकी रहेको २३ लाख डोज १५ दिनभित्र नेपाल आइपुग्ने भएको छ । फाइजरको खोप भने डिसेम्बरभित्र आइपुग्ने मन्त्रालयले जनाएको छ । फाइजर पनि २० लाख डोजको दरले आपूर्ति हुने महाशाखाको भनाइ छ । फाइजर भने नेपाल सरकारको खरिद प्रक्रियाबाट आउने भएको हो । तीन कम्पनीबाट ६० लाख डोज खोप आएसँगै नेपालमा खोप अभियान कम उमेरका जनसंख्यालाई वितरण सुरु गर्ने तयारी छ । नेपालमा हालसम्म सबै कम्पनीको गरी २ करोड ५४ लाख ७ हजार ६ सय ३० डोज खोप आइसकेको छ । नेपालमा हालसम्म ९१ लाख २० हजार जनसंख्याले पहिलो मात्रा मात्र लगाएका छन । ७९ लाख ६ हजार ३ सय ३९ जनाले पूर्ण खोप लगाइसकेका छन् ।

तपाईको प्रतिक्रिया

Techie