सेयर बजारमा झण्डै ७० अंकको बृद्धि

काठमाडौ । मंगलबार सेयर बजारको परिसूचक नेप्से झण्डै ७० अंकले बढेको छ । लगातार दोस्रो दिन दोहोरो अंकले बढेको बजार परिसूचक नेप्से मंगलबार ६९.२२ अंकले बढेर २७ सय ८४.५८ को बिन्दुमा पुगेको छ । कारोबारमा आएका ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ७ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । मंगलबार दोस्रोे बजारमा २ सय २७ कम्पनीको एक करोड ९३ हजार २ सय २१ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ५२ करोड १६ लाख रुपैयाँ पुगेको छ । जसमा १ सय ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको मात्रै शेयर मूल्यमा गिरावट आएको छ । मंगलबार कारोबारमा आएका सबै उपसमूहमा हरियाली छाएको छ । मंगलबार महालक्ष्मी विकास बैंक, नेशनल हाइड्रोपावर कम्पनी र अपि पावर कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । महालक्ष्मीको ३७ करोड २६ लाख, नेशनलको ३० करोड ४२ लाख र अपिको २३ करोड ३६ लाख रुपैयाँ भन्दा बढीको शेयर दोस्रो बजारमा खरिद बिक्री भएको थियो ।

तपाईको प्रतिक्रिया

Techie