जबराको विज्ञप्ति भ्रष्टचार लुकाउन गरिएको दुष्प्रयास: पूर्वन्यायाधीश फोरम

काठमाडौ । पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले नेपाल बार एसोसियसनलाई वार्ताका लागि आव्हान गरेको विज्ञप्तिलाई भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयासको संज्ञा दिएको छ । पूर्वन्यायाधीश फोरमले राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै जबराको विज्ञप्तिलाई न्यायालय सुधारको अभियानलाई प्रभावित पार्ने कुटिल उद्देश्यले आएको बताएको छ।

‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाट जारी गरिएको वार्ताका लागि आव्हान गरेको विज्ञप्ति न्यायको विचलन तथा भ्रष्टचार लुकाउन गरिएको पुष्प्रयास मात्र हो। यो न्यायालयको हितमा रहेको देखिदैन,’ पत्रकार सम्मेलनपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सर्वोच्च अदालतमा छिर्नका लागि वैकल्पिक मार्ग प्रयोग गर्ने जबराबाट न्यायपालिकाको नेतृत्व हुन नसक्ने सो संस्थाको ठहर छ। ‘वैधानिक बाटोबाट छिर्न नसक्ने, प्रहरीको संरक्षण खोज्ने र जिम्मेवारीबाट पन्छिने व्यक्तिबाट न्यायपालिकाको नेतृत्व हुन सक्दैन,’ फोरमको विज्ञप्तिमा भनिएको छ ।

‘नेपाल बारको सक्रिय सहयोगबिना न्यायपालिकाको सुधार सम्भव हुँदैन भन्ने तथ्यलाई बिर्सेर प्रधानन्यायाधीशले नेपाल बारविरुद्ध निरंकुशता प्रर्दशन गरेको र बार र बेन्चको अटूट सम्बन्धको मूल्य बुझ्न नसकेकाले न्यापालिकाको सम्पूर्ण तहमा आन्दोलन चर्कन पुगेको समेतको उत्तरदायित्व प्रधानन्यायाधीश उपर नै जान्छ, ‘त्यसकारण पनि चोलेन्द्र शमशेर राणाले प्रधानन्यायाधीशको पद बाट अविलम्ब बहिर्गमन हुनुपर्दछ भन्ने हाम्रो जोडदार माग रहेको छ,’विज्ञप्तिमा भनिएको छ ।

फोरममा पूर्वन्यायाधीशहरुमा टोपबहादुर सिंह, पवनकुमार ओझा, शम्भूबहादुर खड्का, राजेन्द्रकुमार भण्डारी नारायण पोखरेल, जनार्दनबहादुर खड्का, जीवनहरि अधिकारी लगायत छन् ।

तपाईको प्रतिक्रिया

Techie