एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै, कांग्रेसको पौडेल समूह पनि महाधिवेशन केन्द्रित छलफलमा

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै छ । दिउसो बस्ने बैठकले शनिवार र आइतबारका लागि तय भएको केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ । बैठकले विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेका नेता कार्यकर्ताहरुको जिम्मेवारी र भूमिकाबारे मापदण्ड पनि तय गर्ने बताइएको छ । शनिवारवाट सुरु हुने पार्टीको केन्द्रीय कमिटी बैठकमा देशैभर सङ्गठन बिस्तारमा भइरहेको अवस्थाबारे समीक्षा हुने नेताहरुले बताएका छन । बैठकमा केन्द्रीय नेताको जिम्मेवारीअनुसार कार्यप्रगति, आगामी दिनमा पार्टीले सञ्चालन गर्ने राजनीतिक गतिविधि तथा अभियान, मुलुकको समसामयिक राजनीतिक अवस्थाकाबारे छलफल हुनेछ ।

पौडेल पक्ष बैठक

१४ औं महाधिवेशन तयारी र केन्द्रीय समिति बैठकमा एजेण्डाका विषयमा छलफल गर्न नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक आज दिउसो बस्दैछ । तीन महिनापछि बस्न लागेको कांग्रेस समिति बैठकको रणनीति तय गर्न पौडेलले बैठक बोलाएका हुन । तीन महिनापछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार बस्दैछ । पौडेल समूहले आसन्न महाधिवेशनमा एकल उम्मेदवारीका विषयमा पछि बैठकमा छलफल गर्ने तयारी गरेको छ । बैठकमा भोलीबाट हुने १४औँ महाधिवेशन अन्तर्गत बाँकी रहेका जिल्लाहरूको वडा अधिवेशनको विषयमा रणनीतिक छलफल गर्ने समूहको योजना छ । यस्तै, अन्य तहहरूको अधिवेशनको विषयमा समीक्षा र भाबी कार्ययोजनाको विषयमा पनि छलफल हुने बताइएको छ । बिहीबार सभापति देउवा निकट नेताहरुको बैठक बालुवाटारमा बसेको थियो । कांग्रेसको १४औं महाधिवेशन मंसिर २४–२७ सम्म काठमाडौंमा हुँदैछ ।

तपाईको प्रतिक्रिया

Techie