अर्थमन्त्री र सभामुखले गरे बाह्रबिसेदेखि मितेरी पुलसम्म स्थलगत अवलोकन

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्मा र सभामुख अग्निप्रसाद सापकोटाले सोमबार अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसेदेखि नेपाल-चीन सीमा नाका मितेरी पुलसम्म स्थलगत अवलोकन गरेका छन्।
अवलोकनका क्रममा उनीहरूले भूकम्प, केही वर्षयताको लगातारको बाढी पहिरोका कारण जीर्ण बनेको सडक र तातोपानी नाकाबाट हाल भइरहेको आयात निर्यातबारे जानकारी लिए।
अवलोकनपछि आयोजना गरिएको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले तोकिएको भन्दा दोब्बर राजस्व संकलन गर्ने लक्ष्य आफूले लिएको बताएका छन् । पछिल्लो समय बेमौसमी वर्षाका कारण अबौंको क्षति भएकाले राजस्व संकलन तथा आर्थिक वृद्धिमा चुनौती थपिएको उनको भनाइ छ । राजस्व संकलनसमेत लक्ष्यअनुरुप हुने विश्वास उनको छ ।
कार्यक्रममा सभामुख सापकोटाले बाह्रबिसेदेखि तातोपानी नाकासम्मको सडकको पुनर्निर्माण लगायतका विकास कार्यलाई बहुवर्षीय योजनाको रूपमा लैजानुपर्ने आवश्यकता औंल्याए। त्यसका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन खाका बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया

Techie