न्यायपालिकामा भैरहेको आन्दोलन विरुद्ध उत्रिए एमाले-कांग्रेस आबद्ध वकिलहरू

काठमाडौ । नेपाल बार एशोसियसन र सर्वोच्च अदालतका न्यायाधीशहरू इजलास बहिष्कार गरेर आन्दोलनमा उत्रिएका बेला बार नेतृत्वमा प्रभाव राख्ने एमाले र कांग्रेसआबद्ध वकिलहरूका संगठन भने सो आन्दोलनको विरुद्धमा देखिएका छन् । एमालेनिकट प्रगतीशल कानून व्यवसायी संगठन (पीपीएलए) र कांग्रेसनिकट नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन (डीएलए) ले बुधबार अलग–अलग विज्ञप्ती निकाल्दै न्यायपालिकामा भइरहेको अराजकता र बारको आन्दोलनमाथि प्रश्न उठाएका हुन् ।
कांग्रेस निकट डीएलएका अध्यक्ष योगेन्द्रबहादुर अधिकारी र महासचिव लक्ष्मीदेवी रावलले जारी गरेको विज्ञप्तिमा न्यायिक कार्य सम्पादनमा कहिल्यै पनि कुनै पक्षबाट बाधा व्यवधान गरिने वातावरण सदाका लागि अन्त्य गर्न ठोस कदम चाल्नुपर्ने बताएका छन् । जनआस्था नै न्यायपालिकाको गरिमाको आधारस्तम्भ भएकाले न्यायपालिकाको नेतृत्व तह र माननीय न्यायाधीशहरूबाट कुनै पनि बहानामा न्यायपालिकाप्रतिको जनआस्थामा खलबल पुग्ने कार्य तत्काल बन्द गर्न विज्ञप्तीमा माग गरिएको छ ।
एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए) ले पनि प्रधानन्यायाधीश र न्यायाधीशका व्यक्तिगत स्वार्थ र कार्यकारी भूमिकाका रोजाइजस्ता कुराले उनीहरू विवादमा परेको भन्दै संवैधानिक उपचार खोज्न दलहरू अग्रसर हुनुपर्ने बताएको छ । संगठनकी कार्यबहाक अध्यक्ष रमा श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै न्यायिक शुद्धीकरणका लागि बारले चालेको कदममा समर्थन रहने र इजलास बहिस्कारमा समर्थन नहुने बताएकी छन् ।
पीपीएलएको विज्ञप्तीमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश वा न्यायाधीशहरू उपर भागवण्डा, पद, मानपदवी र पदक तथा सेटिङमा प्रश्न उठ्नु अत्यन्त दुःखद कुरा भएका हुँदा त्यस्ता विषयमा संलगन जो कोही उपर छानबिन गरी कारबाही हुनुपर्ने उल्लेख छ । प्रधानन्यायाधीश र सर्वोच्चका सबै न्यायाधीशहरूमाथि प्रश्न उठेको र न्यायिक दायित्वबाट पन्छिएकोमा सबैमाथि कारवाही हुनुपर्ने डीएलए र पीपीएलएको एउटै आसय देखिएको छ । दुवै संगठनको विज्ञप्तीका केही बुँदा बाहेक एकै खाले रहेका छन् । दुवै संगठनले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको सुझाव समितिले लिएको सुझावलाई कार्यान्वयन गर्न माग गरेका छन् । उनीहरुले इजलास बहिस्कार जस्ता कार्यले समस्याको समाधान दिन नसक्नेतर्फ पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया

Techie