कांग्रेसका वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौ । पुल उद्घाटनका लागि तनुहँ पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । व्यास नगरपालिका–१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगेको थियो । पौडेलको सुरक्षाका लागि प्रहरी कार्यालय लगिएको प्रहरीले जनाएको छ । पुल उद्घाटनका विषयमा विवाद भएपछि जिल्ला प्रशासन कार्यालयले बुधबार मध्याह्न १२ बजेदेखि बेलुका ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको थियो । एक पक्ष पुल उद्घाटनका पक्षमा रहेको र अर्को पक्ष विरोधमा उत्रँदा हुन सक्ने झडपको स्थितिलाई विश्लेषण गरी निषेधाज्ञा लगाइएको प्रशासनको सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

Techie