६० देखि ६४ वर्ष उमेरका नागरिकलाई आजदेखि चिनियाँ खोप लगाइँदै

भारतीय खोप लगाएका १३ लाख वृद्धवृद्धाले दोस्रो मात्रा पाएनन्

मंगलबारदेखि जेष्ठ नागरिकलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइने भएको छ । ६० वर्षदेखि ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकलाई मंगलबारदेखि कोरोना भाईरसविरुद्धको खोप दिइने भएको हो । मंगलबारदेखि सञ्चालन हुने खोप अभियान २९ गतेसम्म पाँचदिन चल्ने र भिडभाड कम गराउनको लागि हरेक दिन फरक फरक उमेरका जेष्ठ नागरिकलाई खोप दिइने प्रवन्ध मिलाइएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।
पाँच दिनमा एक लाख जेष्ठ नागरिकलाई खोप दिने लक्ष्य राखिएको उनले बताएकाछन् । काठमाडौं महानगरपालिकाले खोपको लागि ३२ वटा खोप केन्द्र तोकीसकेको र नजिकैको खोप केन्द्रमा गएर लगाउन सकिने प्रमुख शाक्यले जानकारी दिए । जेष्ठ नागरिक सँगै आउने परिवारका अर्को जेष्ठ सदस्य भएपनि पालो नहेरीकन खोप लगाउन सहजीकरण गरिने छ । २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप दिइने महानगरपालिकाले जनाएको छ ।।

फरक कम्पनिका खोप लगाउने तयारी

सरकारले भारतबाट कोरोनाभाइरसविरूद्धको कोभिसिल्ड खोप नआउने भएपछि दोस्रो डोज लगाउन बाँकी नागरिकलाई अष्ट्राजेनेकाकै अन्य देशमा उत्पादित खोप दिने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै भारतको सेरम इन्स्टिच्युटले खोप उलपब्ध गराउन असर्मथ रहेको पत्र पठाएको भन्दै पहिलो डोज लगाएका मानिसलाई उस्तै प्रकृतिको अष्ट्राजेनेका खोप लगाउने निर्णय गरिएको जनाएको छ । सेरमसँग किनेको २० लाख डोजमध्ये १० लाख डोजमात्र नेपाल आएको छ । बाँकी १० लाख डोज सरेमले तत्काल दिन नसक्ने भन्दै नेपाललाई पत्र पठाएको थियो । सेरमबाट खोप नआउने निश्चित भएसँगै अहिले सरकारले सो खोपको सट्टामा उस्तै प्रकृतिको खोप जुटाउन विभिन्न देशसँग पहल गरिरहेको छ । मन्त्रालयले पहिलो डोज लगाएका मानिसलाई १२ हप्तापछि पनि खोप लगाउन मिल्ने भन्दै पहिलो डोज लगाएका मानिसहरूलाई धैर्यता गर्न आग्रह गरेको छ । मन्त्रालयका अनुसार दोस्रो डोज लगाउनु पर्ने संख्या झन्डै १३ लाख छ ।

तपाईको प्रतिक्रिया

Techie