५७० कोरोना संक्रमित थपिए, थप १४ जनाको मृत्यु

काठमाडौ । चाडवाडका कारण नेपालमा कोरोना भाइरस संक्रमण जाँच घटेको छ । दैनिक करिब १५ हजारका दरले पीसीआर परीक्षण हुँदै आएकोमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय २५ वटा मात्रै नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ सय ११ जना महिला र ३ सय ५९ जना पुरुष रहेका छन् । पछिल्लो चौविस घण्टामा काठमाडौं उपत्यकामा २५२ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २२५, भक्तपुरमा ४ र ललितपुरमा २३ जना संक्रमित थपिएका हुन् । यो सँगै नेपालका कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६८ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ । नेपालमा निको हुने दर ७४ दशमलव १ प्रतिशत रहेको छ । पछिल्लो चौविस घण्टामा थप १४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको मन्त्रालयले जनाएको छ । मृत्यु हुने दर शुन्य दशमलव ५ प्रतिशत रहेको छ । अहिले देशभर ४० हजार ६ सय ८१ जना सक्रिय संक्रमित छन । देशभरका क्वारेन्टिनमा २ हजार ९ सय ६९ जना रहेका छन् । हालसम्म १४ लाख ६ सय ९४ वटा नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।।

तपाईको प्रतिक्रिया

Techie