२५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह

काठमाण्डौ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भीडभाड कम गर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो । मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद्समक्ष प्रस्ताव लगेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताए। अहिले देखिएका संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको बताए। उनले भने ‘अहिले जुन भिडभाड भइरहेको छ कति ठाउँमा, अब त्यो भिडभाड पुरै बन्द गर्नुपर्छ । एकदमै जनस्वास्थ्यका मापदण्ड फलो गरेर २५ जना भन्दा कम मान्छे दुरी कायम गरेर भेला हुन सकिन्छ ।

त्यो पनि अब कति दिनपछि नगर्नुस भन्नुपर्ने अवस्था आउन सक्छ । जस्तो स्कुल, कलेज, सिनेमा हल पार्टी प्यालेस, भेला, जुलुस, भिडभाड, ठूलाठूला ग्यादरिङहरु सबै बन्दगर्नुपर्छ भनेर हामीले भनेका छौं । यो किन भनेको हो भन्ने कुरा पनि म भन्न चाहन्छु । अहिले छिटपुट रुपमा कोभिड–१९ का केसहरु गएको महिनाको भन्दा बढेर गयो । पछिल्लो समय देखिएका संक्रमित व्यक्तिहरुमा जटिल किसिमका लक्षणहरु देखा परेको पनि प्रवक्ता गौतमले बताए। त्यसैले अहिले नै कोभिड संक्रमण भएका धेरै विरामीहरुलाई अस्पतालमा भर्ना गर्नुपरेको पनि बताए।

उनले भने ‘लक्षणहरु उस्तै हो तर लक्षणहरु अलि सिरियस, जटिल लक्षणहरु देखिराखेको छन् । मान्छेहरु विरामी पर्दैमा त अस्पताल भर्ना गर्नु पर्दैन तर अहिले अस्पताल भर्ना गर्नुपर्ने विरामीहरुको संख्या ह्वात्तै बढेको छ । त्यसको मतलब संक्रमण भएकाहरुमा जटिल क्षणहरु धेरै देखिएको छ । जहाँ जटिल लक्षण धेरै देखिन्छ त्यहाँ अस्पतालमा धेरै भर्ना गर्नुपर्ने हुन्छ र जटिल लक्षण धेरै देखिएका मान्छेहरुमा मृत्यु पनि धेरै हुने सम्भावना हुन्छ ।’

गतवर्ष भन्दा यस वर्ष मन्त्रालयको व्यवस्थापन पक्ष राम्रो भएको पनि प्रवक्ता गौतले बताए। गत वर्ष रोगको बारेमा र यसको व्यवस्थापनको बारेमा केहीपनि थाहा नभएको तर यसपटक औषधि भन्दा पनि अक्सिजन र रोगसँग लडनुपर्ने अन्य सामग्रीहरुको जोहो गर्नुपर्छ भन्ने थाहा भएकोले सोही अनुसारको तयारी गरिएको बताए।

तपाईको प्रतिक्रिया

Techie