स्वास्थ्यकर्मीको पिसिआर विधिबाट कोरोना परीक्षण गरिने

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्ने भएको छ । स्वास्थ्यकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने भएको मन्त्रालयले जनाएको हो । मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीका अनुसार आजैदेखि स्वास्थ्यकर्मीको परीक्षण शुरु गरिएको छ । यसैगरी मन्त्रालयले उपत्यकामा रहेका सुरक्षाकर्मी, मजदुर र पत्रकारको पनि कोभिड–१९ परीक्षण गर्ने भएको छ । परीक्षणका लागि मन्त्रालयले कार्यविधि बनाइरहेको छ । केही दिनअघि दुई पत्रकार र केही सुरक्षाकर्मीमा कोरोनाको सङ्क्रमण देखिएको थियो । यसैगरी मन्त्रालयले क्वारेन्टाइनमा रहेका सबैको कोरोना संक्रमण परीक्षण गर्ने भएको छ । यही जेठ ५ गतेभित्र क्वारेन्टाइनमा रहेका सबैको आरडीटी र पिसिआर विधिबाट परीक्षण गर्ने निर्णय मन्त्रालयले गरेको छ । अहिलेसम्म मुलुकभरि १५ हजार ६०० जना क्वारेनटाइनमा रहेका छन् । देशभरिका विभिन्न स्थानमा ५३ हजार ८३५ क्वारेन्टाइन वेड रहेका छन् ।

तपाईको प्रतिक्रिया

Techie