सुर्खेतको लेकवेशी नगरपालिकामा तीन क्रसर उद्योग गैरकानुनी रुपमा सञ्चालन

सुर्खेत : सुर्खेतको लेकवेशी नगरपालिकामा रहेका तीनवटा क्रसर उद्योगहरु लामो समयदेखि गैरकानुनी रुपमा सञ्चालन भएको पाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलसहित नगर प्रमुख, जिल्ला समन्वय अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षकको टोलीले निरीक्षण गर्दा तीनवटा उद्योगहरु गैरकानुनी रुपमा सञ्चालनमा रहेको पाइएको हो ।

लेकवेशी नगरपालिका वडा नं ९ मा रहेको लेकवेशी वालुवा प्रशोधन उद्योग, वडा नं. ८ मा रहेको राजेन्द्र श्याम एण्ड कन्स्ट्रक्सन प्रालि र वडा १ मा सञ्चालित भेरी एग्रीग्रेड एण्ड स्याण्ड रिफाइनरी उद्योग अनुमति विना सञ्चालनमा रहेका छन् । अवैधरुपमा सञ्चालनमा आएका उद्योगहरुले खोलामा भएका ठुला ढुङ्गाहरु जथाभाविरुपमा संकलन गरेकाले बाढीको प्रकोप बढेको स्थानीयको भनाइ छ । अहिले एस्काभेटरको प्रयोगबाट त्यसक्षेत्रमा रहेका खोलाबाट ढुङ्गा निकाल्ने काम भइरहेकाले बाढीको जोखिम बढेको छ ।

लेकवेशी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले सञ्चालनमा रहेका उद्योगहरुले नगरपालिकासँग कुनैपनि सम्पर्क नगरी आफुखुशी सञ्चालन गरिरहेको बताए । उद्योग स्थापना गर्दा तोकिएको स्थानमा मात्र राख्नुपर्ने, यसबाट जल प्रदुषण,ध्वनी प्रदुषण र जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्ने कार्य गर्न नपाइने स्पष्ट कानूनी प्रावधान छ । तर उद्योग सञ्चालकहरुले कानुनको उल्लंघन गर्दै उद्योगहरु सञ्चालन गरेका छन् ।

वन पैदावारमा आधारित कुनै पनि उद्योगहरु वन क्षेत्रको दुई किलोमिटर भन्दा टाढा राख्नुपर्ने स्पष्ट नीतिगत व्यवस्था हुँदाहुँदै पनि नीति नियमको धज्जी उडाउँदै उद्योगहरु सञ्चालनमा रहेका छन् ।

यता जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले सञ्चालनमा रहेको सबै उद्योगहरु गैरकानुनी रुपमा सञ्चालनमा रहेका बताए । उनले आफुहरु निरीक्षणमा जाँदा तीनवटै क्रसर उद्योगहरु विधि र प्रकृया विपरीत सञ्चालन गरेकाे पाइएको भन्दै सबै भन्दा धेरै खहरे खोलामा रहेको क्रसर उद्योगले क्षति पुर्‍याएको बताए । उनले अबैधरुपमा सञ्चालन भएका उद्योगहरुले खोलानालमा धेरै क्षति पुर्‍याएको भन्दै उनीहरुलाई कारबाहीको दायरामा ल्याइने उल्लेख गरे ।

यता घरेलु तथा साना उद्योग कार्यालय सुर्खेतमा अहिले सम्म दुईवटा मात्र उद्योगहरु दर्ता भएको पाइएको छ । कार्यालयका सुचना अधिकारी रिता कुमारी कँडेलले दर्ता भएका दुईमध्ये वीरेन्द्रनगर रहेको त्रिशक्ती क्रसर उद्योग सञ्चालनमा छ भने भेरीगंगामा रहेको देउती क्रसर उद्योग बन्द रहेको छ । उनले सञ्चालनमा आएका उद्योगहरु पनि मापदण्ड पुग्न नसकेको जिकिर गरे ।

तपाईको प्रतिक्रिया

Techie