सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनको मुल्य उकालो लाग्ने क्रम रोकिएको छैन । आज पनि छापावाल सुन प्रति तोला पाँच सय रुपैयाले बढेर ९६ हजार ३ सय रुपैयामा कारोबार भएको छ । आज निर्धारण भएको मूल्य अहिलेसम्मकै महंगो भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुनको प्रति तोला ९५ हजार ८०० मा कारोवार भएको थियो । यस्तै तेजावी सुनको मूल्य ९५ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य १ हजार एक सय ५५ रुपैयाँ प्रतितोला कायम भएको छ ।

चाँदीको मुूल्य आज तोलामा ५ रुपैयाँले बढेको हो । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि नै सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । लकडाउन अघि चैत्र १० गते सुन तोलाको ७७ हजारमा कारोबार भएको थियो ।

सुनको भाउ महँगो हुँदा बिक्री भने ठप्प जस्तै भएको छ । कोरोना संक्रमणका कारण लगानीकर्ता सुनमा आकर्षित हुँदा सुनको मुल्य बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie