सीमा बन्द भएपछि सर्वसाधारणलाई समस्या भएको भन्दै स्थानीय आन्दोलित

काठमाडौं:  कोरोनाका कारण लामो समयदेखि नेपाल भारतको सीमा बन्द भएपछि सर्वसाधारणलाई समस्या भएको भन्दै दुई नम्बर प्रदेशको सीमा क्षेत्रका बासिन्दा आन्दोलित भएका छन । नाका नखुल्दा समस्या भोगिरहेका स्थानीयले केही दिनदेखि धनुषा सहित प्रदेश दुईका विभिन्न नाकामा धर्ना थालेका हुन ।
कोरोना संक्रमणका कारण चैत्रदेखि बन्द गरिएको सीमा नाका खुला गर्न माग गर्दै सीमा क्षेत्रमा प्रदर्शन हुन थालेको छ । नेपाल भारत खुल्ला सीमा संवाद समूहको नेतृत्वमा भइरहेको धर्नामा स्थानीय र मधेश केन्द्रित दलका नेताको पनि सहभागिता रहने गरेको छ । सीमा बन्द हुँदा स्थानीयले सास्ती व्यर्होनुपरेकाले खुला नहुँदासम्म प्रदर्शन जारी राख्ने चेतावनी संवाद समूहले दिएको छ ।

कोरोना संक्रमण सुरु भएपछि अन्य क्षेत्रमा लागू गरिएको प्रतिबन्ध हटाएपनि केही मुख्य नाका छाडेर तराइका अधिकांश सीमा बन्द गरिएका छन । त्यसको विरोधमा अहिले प्रदेश दुईका छ जिल्लाकाका विभिन्न नाकामा धर्ना कार्यक्रम भैरहेको छ । कोरोनालाई देखाउदै नेपाल भारत सीमा बन्द गर्ने अभ्यास सरकारले गरेको आन्दोलनकारीको आरोप छ ।

नेपालको सीमावर्ती क्षेत्रका बासिन्दामध्ये कयौँको भारततिर वैवाहिक सम्बन्ध छ । नाका बन्दका कारण उक्त सम्बन्धमा पनि निकै समस्या आएको छ । हिँडेर आउजाउ गर्न त्यति रोकतोक नभए पनि गाडी आउजाउमा प्रतिबन्धले वैवाहिक कार्यक्रम समेत रोकिएका छन । सीमा क्षेत्रका बासिन्दाले तस्करलाई सुविधा र नागरिकलाई दुःख दिएको आरोप लगाएका छन ।

आन्दोलनमा राजनीतिक दलले पनि समर्थन जनाएका छन । सीमा क्षेत्रमा भैरहेको प्रदर्शनमा राजनीतिक दलहरुले पनि समर्थन जनाएका छन । सरकारले सीमा खुला नगरे आफै नाका खोल्ने चेतावनी उनीहरुको छ ।

नाका नखुल्दा सीमावर्ती क्षेत्रका नागरिकलाई व्यापार–व्यवसाय, नाता–सम्बन्ध कायम राख्न समस्या भएको छ । लामो समय नाका बन्द हुँदा दुई देशविचकै सम्वन्धमा असर परेको भन्दै धर्नामा सहभागीहरुले सीमामा स्वास्थ्य इकाई राखेर भएपनि नाका खुला गर्न माग गरेका छन ।

 

तपाईको प्रतिक्रिया

Techie