सार्कको १९ औँ शिखर सम्मेलन शीघ्र आयोजना हुनेमा विश्वस्त छु : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ‘सार्क’ को १९ औँ शिखर सम्मेलन शीघ्र आयोजना गर्न सदस्य राष्ट्रबीच सहमति हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । सार्क सचिवालयमा आज आयोजित कार्यक्रममा सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले लामो समयदेखि अवरुद्ध भएको सार्क सम्मेलन चाँडो हुनेमा आफू ढुक्क रहेको बताएका हुन् ।

सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न आफू आतुर रहेको स्पष्ट पार्दै उनले १९औं सम्मेलनका लागि सबै सदस्य राष्ट्रबीच सहमति जुट्ने विश्वास पनि व्यक्त गरे ।

सार्कलाई पुनःजीवन दिन तथा दक्षिण एशियाका जनताको विकासको चाहना पूरा गर्न यसलाई प्रभावकारी माध्यम बनाउन सार्क राष्ट्रहरु सहमत रहेको पनि बताए । सार्कका महासचिव अमजद हुसेन बी सियालले सार्कको परिधिभित्र रहेर क्षेत्रीय सहयोग अभिवृद्धि गर्न महासचिवका रुपमा निर्वाह गरेको भूमिकाको उनले सराहना गरे ।

सो क्रममा प्रधानमन्त्री ओलीले सचिवालय परिसरमा रुद्राक्षको बिरुवा रोपेका छन् । उनले सचिवालयमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरे ।

तपाईको प्रतिक्रिया

Techie