सांसद अपहरणको विषयमा अनुसन्धान गर्न विपक्षी चार दलद्वारा सरकारसँग माग

सांसद अपहरणको विषयमा अनुसन्धान गर्न विपक्षी चार दलले सरकारसँग माग गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको विपक्षी दलहरुको बैठकले जनकपुरबाट सांसदलाई अपहरण गरी काठमाडौं ल्याइएको विषयमा छानबिन गर्न माग गरेका हुन् । पार्टी फुटाउन अपहरणको शैलीमा जनकपुरबाट समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई काठमाडौं ल्याइएको भन्दै कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी नेपाल र राप्रपाले घटनाको छानबिन गर्न माग गरेका हुन् ।

काठमाडौंमा मुद्दा दर्ता भएर महोत्तरीमा अनुसन्धान गर्न सकिने ठाउँ हुँदाहुँदै पनि मुद्दा दर्ता नभएकोमा समेत बिपक्षी दलले आपत्ति जनाएका छन । विगतमा पनि चितवनमा दर्ता भइ काठमाडौंमा अनुसन्धान र काठमाडौंमा दर्ता भइ सुनसरीमा गिरफ्तारी भएका नजिरहरु रहेको भएपनि शक्तिको आडमा अहिले मुद्दा दर्ता नगरिएको बैठकको निस्कर्ष छ । प्रधानमन्त्री समेत संलग्न भई सांसद अपहरण भएको विषयमा मुद्दा समेत दर्ता नगरिएपछि दलहरु एकसाथ कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकमा छलफल भएको कांग्रेसले जनाएको छ । सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा विपक्षी दलहरुबाट व्यापक विरोध भएपछि सरकारले विधेयक फिर्ता लिएपनि पृष्ठभूमिमा भएको अपराधको घटनाको निस्पक्ष छानविन हुनुपर्ने माग चार दलको छ । सांसदको अपहरण जस्तो विषय कुनै एक दलसँग मात्रै सम्बन्धित नभएर समग्र शान्ति, संविधान र लोकतान्त्रीक प्रणालीमा गलत कदम भएको निष्कर्ष बैठकले निकालेको छ ।लकडाउनको अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्ने तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न सरकारले राहत र ठोस कार्यक्रम ल्याउन नसकेको विपक्षी दलको ठहर छ । कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक टेष्टिङमा भएको असाधारण ढिलासुस्ती समाप्त गरी तिव्रता दिन पनि बैठकले माग गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie