“सरकारले कोरोना भाइरस संक्रमण बिरुद्धको खोप आयातका लागि कसैसँग सम्झौता गरेको छैन” – डा. जागेश्वर गौतम

काठमाडौं:  सरकारले कोरोना भाइरस संक्रमण बिरुद्धको खोप आयातका लागि कसैसँग सम्झौता नगरेको स्पष्ट पारेको छ । एउटा भारतीय कम्पनीले रुसमा बन्दै गरेको खोप नेपाल ल्याउन सम्झौता गरेको खबर सार्वजनिक भएपछि नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले खोप आयात सम्बन्धी सम्झौता अहिलेसम्म सरकारले नगरेको प्रष्ट पारेको हो । पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विश्वमा अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोप नै नबनेकाले सम्झौता नभएको स्पष्ट पारे ।

कोरोना विरुद्धको खोप तयार भएपछि सुरक्षित भनेर नियामक निकायले नागरिकमा प्रयोग गर्न अनुमति दिएमा सरकारकै पहलमा खोप ल्याइने पनि मन्त्रालयले स्पष्ट पारेको छ । त्यस्तै मन्त्रालयले भाइरसको संक्रमण नजिकका व्यक्तिबाट सर्ने भएकाले आउँदै गरेको दसैंमा आफ्ना घरका सदस्य बाहेक अन्य व्यक्तिलाई घरमा प्रवेश गर्न नदिन पनि आग्रह गरेको छ ।

मन्त्रालयले चाड अर्को बर्ष पनि मनाउन सकिने भन्दै आफन्त गुमाउने अवस्था आउन नदिन र जेष्ठ नागरिकको विशेष ख्याल गर्न आग्रह गरेको हो । दशैँमा ज्येष्ठ नागरिकबाट टीका थाप्दा उनीलाई कोरोना सार्ने जोखिम हुने भन्दै यो वर्ष विशेष ध्यान दिनुपर्ने मन्त्रालयको भनाइ छ । संक्रमण भएका ठाउँबाट गाउँघरमा जाँदा कोरोना भाइरस पनिसँगै लगिने खतरा रहेकोले यो वर्ष टीका थाप्नकै लागि सकेसम्म यात्रा नगर्न पनि सरकारले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie