सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले छलफलमा कोभिड नियन्त्रणका लागि सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै जनतामा चेतना जति बढाउन सक्यो कोरोनासँग लड्न त्यति सजिलो हुने धारणा राखेको एक सहभागीले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह गरेका छन् । बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि लकडाउन गर्ने/नगर्ने बारे समुदायमा कोरोना संक्रमणको स्तर हेरेर निर्णय लिन सुझाव दिएका छन् ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईंले सरकारले प्रतिदिन १८ हजार व्यक्तिको परीक्षण गर्न सक्नेगरी ल्याबको स्थापना गरिएको र हालसम्म ४ लाखको पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको जानकारी दिएका छन् ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणबारे प्रधानमन्त्री ओलीले विज्ञहरूसँग परामर्श गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी रहेका छन् ।

तपाईको प्रतिक्रिया

Techie