सम्यक महादान पर्व शुरु, यस्तो छ पर्वसँग जोडिएको पौराणिक कथा

काठमाडौं : प्रत्येक पाँच वर्षमा हुँदै आएको इतिल्हने सम्यक महादान पर्व यो वर्ष फागुन १४ गते बुधबारबाट शुरु भएको छ । बुधबारबाट शुरु भएको उक्त पर्व आज (बिहीबार)सम्म चल्ने छ । फागुन शुक्ल तृतीयाको दिन आयोजना हुने यो पर्व ‘दिपंकर पर्व’ नामले समेत प्रचलित छ ।

हेर्नुहोस् भिडियो :

बुधबार साँझ ७ बजे विशाल दिपंकर बुद्ध प्रतिभाहरु पाटन दरबार क्षेत्रमा भेला गराइएको छ । सोही स्थानबाट बाजागाजासहित नचाइँदै ललितपुर महानगरको नागबहालमा ल्याइएको थियो । दिपंखाजस्तो दुर्लभ परम्परासमेत आयोजना हुने यही नागबहालमा स्वागत गरी परम्पराअनुसार निश्चित गरिएको स्थान ग्रहण गराइएको छ ।

पर्वको दोस्रो दिन आज (बिहीबार) पूजा, महाद्विप प्रज्वलन, महायज्ञ, महादान कार्य आरम्भ हुनेछ । महादान कार्य आज साँझ ४ बजेसम्म हुनेछ ।

नेवार बौद्ध परम्पराअनुसार शाक्य भिक्षु, बज्राचार्य तथा ललितपुरका विभिन्न विहारहरुका साथै काठमाडौं, भक्तपुर, कीर्तिपुर, चोभारबाट दिपंकर बुद्धहरु, अवलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारा आदि देवदेवताहरुलाई पूजा गरी दान प्रदान गरिन्छ । यो वर्ष आयोजना भएको इतिल्हने सम्यक महादान पर्वमा १४९ देवदेवता रहेको आयोजकले जनाएको छ ।

७०० वर्षदेखि निरन्तर यो परम्परा वि.सं. १८६१ सम्म प्रत्येक वर्ष आयोजना हुँदै आएको थियो भने त्यसपछि आयस्ताको कमीकै कारण प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको छ । यो आयोजना ४७२औं सम्यक आयोजना हो ।

इतिल्हने सम्यक महादान पर्वसँग जोडिएको पौराणिक कथा

ठकुरी वंशको राजा भाष्करदेवका सन्तति भरिभारो भन्ने व्यक्तिले आफ्नो दरिद्रता लुकाउन ढुकुटीमा गाईको गोवर जम्मा गरी साँचो सँधै आफूसँग राख्ने गरेको कुरा उल्लेख छ ।

ढुकुटी गोबर छ भन्ने थाहा नपाउन् भनेर सँधै साँचो आफूले राख्ने गरेको कारण उसकी पत्नीमा कौतुहलता थियो । एकदिन भरिभारोले वाग्मती नदीमा स्थान गर्न जाँदा साँचो बिर्सेर गए ।

साँचो देखेपछि उत्सुक पत्नीले ढुकुटी खोली हेर्दा ढुकुटी सुनले भरिएको फेला पारिन् । यो कुरा उनले पति फर्कनासाथ सुनाइन् । गोबर जम्मा गरेको कसरी सुन भएछ भनेर भरिभारो अचम्ममा परे । ढुकुटीमा हेर्दा साँच्चै सुनको भण्डार देखेपछि भरिभारोले ‘यो सब त्रिरत्नको आशिषले भएको’ आफ्नी पत्नीलाई बताए ।

यही धनबाट सम्यक महादान पर्व सुरु गरी पर्व निरन्तरताका लागि सम्यक गुथि स्थापना गरी हिरण्यवर्ण महाविहारलाई जिम्मा लगाएको कथन छ ।

यही जनविश्वासकै आधारमा हालसम्म ‘गोल्डेन टेम्पल’ नामले विश्व प्रसिद्ध हिरण्यवर्ण महाविहारको तत्वावधानमा २० स्थवीर आःजुहरुले यो पर्व आयोजना गर्दै आएको छ ।

ललितपुरको यति महत्वपूर्ण पर्वमा ललितपुर महानगरपालिकाले सघाउने तत्परता नदेखाएको गुनासो पनि आयोजक समितिले गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie