“‘समृद्ध नेपाल सुखि नेपाली’ अभियानलाई सार्थक बनाउन बिआरआई परियोजना महत्वपूर्ण हुने” (भिडियो रिर्पोट)

काठमाडौं:  चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ बिआरआई परियोजनाबारे नेपालको राजनीतिक दलहरुसँग छलफल गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको छलफलमा परियोजनाबाट दुवै देशले फाइदा लिन सक्ने नेताहरुले बताएका छन् ।

पूर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ बिआरआई परियोजना महत्वपूर्ण हुने बता्एका छन् । मंगलबार चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति, स्थायित्व र विकासका लागि बिआरआई परियोजना महत्वपूर्ण हुने बताएका हुन् । बिआरआई परियोजनाबाट चीन र नेपाल दुवै देशले फाइदा लिन सक्ने भएकाले यसलाई आफुले महत्वपूर्ण अवसरको रुपमा लिएको समेत अध्यक्ष दाहालले बताए ।

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बिआरआईले यस क्षेत्रको नविनता, उत्पादकत्व र प्रगतिका लागि महत्वपूर्ण हुने बताए । बीआरआई परियोजनाले दुई देशबीच वित्तीय एकीकरण र नीति समन्वयका लागि काम गर्ने विश्वास समेत व्यक्त गरे ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले बेल्ट एण्ड रोड परियोजना अन्तर्गत छनोट गरेका ९ वटा आयोजनालाई छिट्टै अन्तिम रुप दिएर कार्यान्वयनमा जानुपर्ने बताए । यस्तै नेपालले अघि सारेको ‘समृद्ध नेपाल सुखि नेपाली’ अभियानलाई सार्थक बनाउन समेत बिआरआई परियोजना महत्वपूर्ण हुने उनको भनाइ छ ।

कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग मन्त्री सोङ ताओ, चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत कमिटीका सेक्रेटरी वु यिंगजी लगायतले सम्बोधन गरेका थिए । चिनियाँ राष्ट्रपति सिचिनफिङको नेपाल भ्रमणको वार्षिकोत्सवको अवसर पारेर चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले ‘चीन–नेपाल बेल्ट एन्ड रोड को–अपरेसनमा राजनीतिक दलहरुको प्रथम संयुक्त परामर्श सम्मेलन’ आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया

Techie