संबिधानको फल भने खाने अधिकार र रक्षा गर्ने दायित्व सबैको हुन्छ: थापा

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार हुँदै नभएको जिकिर गरेका छन् । उनले आफूसँग संविधान परिवर्तन गर्ने अधिकार नभएपनि त्यसले दिएको फल भने खाने अधिकार भएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको जबाफी बहसका क्रमममा सोमबार थापाले संविधानको रक्षा गर्ने दायित्व सबैको हुने बताए ।
‘संविधान विघटनको अधिकार कुनै पनि प्रधानमन्त्रीलाई दिएको छैन । प्रधानमन्त्री दिन नसके प्रतिनिधिसभा आफै मर्छ । संविधानको धारा ७६९७० मार्फत कुनै पनि प्रधानमन्त्री जन्माउन नसकिए संविधान आफै मर्छ ।’ थापाले बताए ।

वरिष्ठ अधिवक्ता थापाले संविधानमा श्री ३ र श्री ५ पनि कहिँ नभएको टिप्पणी गरे । यसअघि संसद विघटनको निर्णयको प्रतिरक्षामा बहस गर्ने कानुन व्यवसायीले संविधानले प्रधानमन्त्रीलाई श्री ३ र श्री ५ लाई जति अधिकार दिएको दावी गरेका थिए ।

‘कतिपय देशमा प्रधानमन्त्रीलाई र कतिपयमा राष्ट्रपतिलाई विशेषाधिकार भएपनि हाम्रोमा दुवैलाई विशेषाधिकार छैन । यहाँ प्रधानमन्त्रीको नोकर संसद हुदैन । संसदको आफ्नै ओरिजिन हुन्छ । प्रधानमन्त्रीले घुमाउन सक्दैन’ उनले भने ।

उनले प्रधानमन्त्री ओलीको समेत बोली फेरिएको दावी गर्दै बुटवलमा शनिबार दिएको अभिव्यक्तिमा त्यस्तै पाइएको बताए । ‘उहाँले (ओली) पुनःस्थापना हुँदैन भन्नुहुन्थ्यो, बुटवलमा पुगेपछि पुनःस्थापना भयो भने सरकार बन्न सक्दैन भन्नु भयो ।’

बुटवलको प्रसंग ल्याएपछि न्यायाधीश अनिल सिन्हाले बाहिरको भाषणको कुरामा नजान थापालाई सचेत गराएका थिए । तर थापाले बाहिर भएको कुराले पनि हर्ष लाग्ने भन्दै टिप्पणी गरे ।

यस्तै थापाले विगतमा नेपालमा ४ पटक प्रतिनिधिसभा विघटन भएको र सबैमा संसदीय व्यवस्थाको अधिकार प्रधानमन्त्रीमा भएको भनिएपनि संसद प्रधानमन्त्रीको नोकर नहुने जिकिर गरे ।
‘संसद् आफ्नै ढंगले चल्छ । संविधान बनाउने सभासदले केही जानेका छैनन् भनेर हुँदैन । यो संसारकै उत्कृष्ट संविधानको हो । प्रधानमन्त्रीको विशेषाधिकार संविधानमा छ भनेको मलाई देखाइदिनु’, उनले विपक्षीलाई चुनौति दिँदै उनले भने, ‘यही विघटनले गर्दा श्रीमानहरुको सुरक्षा बढाउनु परेको छ । अनेक नाटकहरु भइरहेका छन् । पुनःस्थापना भएपनि हामीले र बेन्चले केही पाउँदैन । विघटनको इतिहास श्रीमानहरुले पनि भोग्नु भएको छ ।’

तपाईको प्रतिक्रिया

Techie