संखुवासभाका महिलाहरु खुत्रुके बचतमा आकर्षित

संखुवासभा संखुवासभाको सभापोखरी गाउँपालिका–१ धुपूमा रहेको चेतनशील महिला बचत तथा ऋण सहकारीमा खुत्रुके बचतमा महिलाको आकर्षण बढेको छ । सहकारी स्थापना भएपछि खुत्रुके बचतमा यहाँका महिलाहरुको संख्या क्रमशः बढी रहेको छ ।
२०६३ सालमा स्थापना गरिएको उक्त सहकारी संस्थाको खुत्रुके बचत मार्फत नै ३ लाख ६८ हजार ८ सय १२ रुपैंया बचत भइसकेको छ । शतप्रतिशत घरधुरी सहकारीमा आबद्धता घोषणा गरिएको उक्त सहकारीमा एक हजार १ सय ३७ जना सेयर सदस्य रहेका छन् । जसमध्ये ८७ जनाले खुत्रुके बचत गर्ने गरेका छन् । खुत्रुके बचतका लागि सहकारीले खुत्रुके खरिद गर्ने र खुत्रुके बचत कर्तालाई खुत्रुके प्रदान गर्ने गरिएको छ । खुत्रुकेमा राखिएका पैसा प्रत्येक महिना सहकारीको कार्यालयमा पुगेर खुत्रुके बचत गर्ने गरिएको छ ।

एक महिनामा एक जनाले १ सय ५० रुपैंया देखि २४ हजार ७ सय ३५ रुपैंयासम्म खुत्रुके बचत गर्ने गरेका छन् । यसरी प्रत्येक महिना बचत गरिएको खुत्रुके बचत असार मसान्त र पुस मसान्तमा ब्याज सहित बचत कर्तालाई बचत फिर्ता गर्ने गरिएको छ । यसरी फिर्ता गरिएका रकम कसैले पुन बचत गर्ने गर्छन् भने केहीले व्यवसाय बृद्धिका लागि लैजाने गरेका छन् । बचत गरिएको रकम ऋणको किस्ता तिर्न, सानो सानो पैसा जम्मा गरेर आयआर्जनमा लगानी गर्न महिला सफल भएका छन् ।

उक्त संस्थामा खुत्रुके बचत सहित एक करोड ८३ लाख ८७ हजार ७ सय ४६ रुपैंया बचत रहेको छ । आफ्ना कार्यक्षेत्र भित्रका शतप्रतिशत घरधुरी सहकारीमा आबद्ध गरेको यो सहकारीमा सभापोखरी १ का एक हजार एक सय ३७ जना सेयर सदस्य रहेका छन् । सहकारीले हालसम्म एक करोड ८३ लाख ८७ हजार ७ सय ४६ रुपैंया बचत गरेको छ । उक्त सहकारीमा बाल बचत, नियमित, ऐच्छिक, दैनिक, खुत्रुके र जिवन सुरक्षा लगायतका बचत गर्ने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie