एजेन्सी : रगत प्लाज्माको उपयोगले कोरोना संक्रमित बिरामीको मृत्यु हुने सम्भावना नघटाएको बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ । बेलायतका अस्पतालहरुमा गरिएको अध्ययनले यस्तो देखाएको हो ।
बेलायतका १० हजार चार सय बिरामीमा गरिएको अध्ययन तथा १ हजार ८ सय ७३ मृत्युको विश्लेषण गर्दा प्लाज्मा उपचारले ’कुनै उल्लेखनीय भिन्नता नपारेको’ भेटिएको हो ।
कन्भलेसन्ट प्लाज्मा उपयोग गरिएको बिरामीको समूहमा कोभिड लागेको २८ दिनभित्र १ सय ८५ बिरामीको मृत्यु भएको छ । अरू बिरामीको हकमा पनि मृत्युको अनुपात उस्तै देखिएको छ ।
कोरोना भाइरस संक्रमण भएर निको भएका व्यक्तिबाट प्लाज्मा संक्रलनको अभियान चलाएको बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा ‘एनएचएस’ तथा अनुसन्धानकर्ताहरूका लागि यो नतिजाले आघात पुर्याएको छ ।
नतिजासँगै ट्रायलअन्तर्गतको प्लाज्मा परीक्षण बन्द गरिएको छ । एनएचएसको ब्लड एन्ड ट्रान्सफ्यूजन केन्द्रले प्लाज्मा दानको कार्य अस्थायी स्थगन गरिएको बताएको छ ।
परीक्षणमा औषधि र उपचार लाभदायक छन कि छैनन भनेर हेरिएको थियो । यो विधिलाई कोरोना संक्रमण विरुद्ध सम्भावित उपचारको रूपमा पनि हेरिएको थियो ।
यो विधिमा रोगमुक्त भएका व्यक्तिको शरीरबाट निकालिएको रगतको प्लाज्मा अरू गम्भीर बिरामीको शरीरमा दिइन्छ । त्यसो गर्दा गम्भीर बिरामीको शरीरको प्रतिरोध प्रणाली बलियो हुने आशा गरिएको थियो ।