संकिर्ण स्वार्थका लागि सेनालाई विवादमा तान्ने गरियो: ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संकिर्ण स्वार्थका लागि समय समयमा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने गरिएको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको बार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सेनालाई विवादमा तान्नका लागि हुने गरेका प्रयासहरुप्रति सजग र सर्तक रहन पनि सबैलाई आग्रह गरे । कानून उलंघन भए सम्बन्धित निकायले हेर्ने भन्दै वादप्रविादमा नउत्रने संस्थालाई वादविवादमा तान्ने खालमा काम गर्नु उचित नहुने तर्क गरे ।
प्रधानमन्त्री ओलीले सुरक्षा परिषद्को संबैधानिक, कानूनी र व्यवहारिक रुपमा सही प्रयोग भईरहेको दाबी गरे । उनले विशेष गरी प्रतिरक्षा र राष्ट्रिय सुरक्षाको मामिलामा नेपाली सेनाको परिचालन एवं प्रयोग सही ढंगले गर्ने सवालमा परिषद्ले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए ।
प्रधानमन्त्री ओलीले नेपाल सरकार सधै शक्तिको आडमा नभई सत्यको आडमा न्यायका कुरा स्थापित गर्न चाहने भएकाले सोही अनुसार प्रतिरक्षा र सुरक्षा लगायत नीति तय गरिएको बताए । राष्ट्रिय र प्राकृतिक विपतको समयमा अग्र भागमा बसेर काम गर्ने गरेको उल्लेख गर्दे उनले नेपाली सेनाको प्रशंसासमेत गरे । प्रधानमन्त्री ओलीले हिंसाको बाटोमा लागेकालाई शान्तिपुर्ण राजनीतिको मुलधारमा फर्काएको र विखण्डनवादको पनि अन्त्य भएकाले नेपाल नयाँ युगमा प्रवेश गरेको बताए ।

तपाईको प्रतिक्रिया

Techie